काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन शुरु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आज (आइतबार) विज्ञप्ति जारी गर्नुहुँदै आगामी असार–१ गतेबाट नियमित पठनपाठन शुरु गर्न आव्हान गर्नुभएको हो ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण सरकारले लागू गरेको बन्दाबन्दीका कारण लामो समयसम्म पढाई अवरुद्ध हुँदा पुग्ने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेकाले असार–१ गतेबाट नियमित पठनपाठन शुरु गर्न आव्हान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । विद्यालय उमेर समूहका बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ समेत जारी गरेको छ ।
“सो निर्दे्शिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु”, मन्त्री पोखरेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, बजेट वक्तव्यको बुँदा नम्बर १६६ बारे मन्त्री पोखरेलले आफ्नो मन्त्रालयले प्रस्ताव नगरेको दावी गर्नुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लेखित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढिकरण निम्ती गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पुरक कार्यक्रमका रुप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत गरिने गरि परिचालन गरिनेछ ।”
शिक्षामन्त्री पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरण सबैको साझा दायित्व भएको पनि बताउनुभएको छ । तर, मन्त्री पोखरेलले नीजि विद्यालयहरुले यही जेठ २१ देखि भर्ना सञ्चालन गर्ने घोषणा गरेपनि मौन समर्थन जनाउनुभएको छ ।