चार स्थानीय तहका १७ जनाको आरडिटि पोजेटिभ, पिसिआर रिपोर्ट आउन बाँकी

Halesi Khabar
0 Shares

खोटाङ, १९ जेठ । खोटाङका चार स्थानीय तहमा १७ जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट पोजेटिभ देखिएको छ । ऐसेलुखर्क गाउँपालिकामा आठ, जन्तेढुङ्गा गाउँपालिकामा पाँच, दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकामा दुई÷दुई जनागरी १७ जनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएको हो ।

आरडिटि रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरु र उनीहरुको सम्पर्कमा रहेका ५९ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणमा पठाइएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले जानकारी दिनुभयो । मेडिकल अधिकृत डा. श्रेष्ठका अनुसार आरडिटि रिपोर्ट पोजेटिभ देखिनेमा वडा सचिव, स्वास्थ्यकर्मी, खानेपानी आयोजनाका प्राविधिक र बाहिरी जिल्लाबाट आएका सर्वसाधारण रहेका छन् ।

जिल्ला अस्पतालको टोली गएर परीक्षण गर्दा आठ जनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएपछि ऐसेलुखर्क गाउँपालिका अनिश्चितकालीन रुपमा सिल गरिएको छ भने, अन्य स्थानीय तहमा उच्च सतर्कता अपनाइएको छ । जिल्लाका उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकामा एक वडा सचिव र एक स्वास्थ्यकर्मीसहित आठ जनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ ।
यसअघि साकेला गाउँपालिकाका १३१ जनाको आरडिटि परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । आरडिटि रिपोर्ट पोजेटिभ देखिएपछि स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गर्दा उनीहरु दुवै जना तथा उनीहरुको परिवारको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका प्रमुख अर्जुन खड्का ‘झङ्कार’ले बताउनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा ९५१ जनाको आरडिटि र २४८ जनाको पिसिआर परीक्षण गरिएको जनाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १८१, खोटेहाङ गाउँपालिकामा ६२, हलेसी तुवाचुङ नगरपालिकामा ९०, दिक्तेल रुपाकोट मझुवागढी नगारपालिकामा २३४, रावाबेँसी गाउँपालिका २६, साकेला गाउँपालिकामा १३१, केपिलासगढी गाउँपालिकामा पाँच, ऐसेलुखर्क गाउँपालिकामा ११६, जन्तेढुङ्गा गाउँपालिकामा ८० र बराहपोखरी गाउँपालिका २६ जनाको आरडिटि परीक्षण गरिएको हो ।

यस्तै, खोटेहाङ गाउँपालिकामा पाँच, हलेसी तुवाचुङ नगरपालिकामा ११५, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९७, ऐसेलुखर्क गाउँपालिकामा १९ र जन्तेढुङ्गा गाउँपालिकामा छ जनाको पिसिआर परीक्षण गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो । पिसिआर परीक्षणका क्रममा हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका २० वर्षीय एक युवकमा कोरोना पोजेटिभ देखिएको छ ।

गत वैशाख–१२ गते काठमाडौँबाट उद्दार गरेर ल्याइएका उनमा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि विराटनगर पठाइएको छ । गत जेठ–५ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको नगरप्रमुख इवन राईले बताउनुभयो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले भारतबाट आउने व्यक्तिलाई सिमानामै पिसिआर परीक्षण गरेर मात्र गाउँ ल्याउने व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरेको छ । भारतबाट जथाभावी भित्रिने जिल्लाबासीबाट कोरोना भाइरसको सङ्क्रमण पनि भित्रिने खतरा बढेकाले उनीहरुलाई सिमानामै रोकेर अनिवार्य रुपमा पिसिआर परीक्षण गरेपछि मात्र घर ल्याउने व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो ।

भारत तथा विभिन्न देशबाट आएका व्यक्तिलाई राख्न जिल्लामा ३०४ शैयाको क्वारेन्टिन र सङ्क्रमण रहेको आशंका गरिएका व्यक्तिलाई राख्न १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन मापदण्ड विपरित रहेको अनुगमन टोलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया