राजेन्द्र राई
चिनको हुओइ प्रान्तको बुहान शहरस्थित थोङ्जी अस्पतालमा लगभग छ महिनाअघि एक अनौठो प्रकृतिको बिरामी फेला परेको थियो । जसलाई डाक्टर र अनुसन्धान कर्ताहरुले नोबेल कोरोना भाइरस पुष्टि गरेका थिए । यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने प्रकृतिको भएकोले फैलिँदै गयो, र चिनमा मात्र सिमित नभई पुरा विश्वभर फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई छोटकरीमा कोभिड–१९ भन्यो ।
फैलिने क्रममा दक्षिण कोरियामा जनवरी २० मा पहिलो पटक भाइरस संक्रमित भेटिएको थियो । त्यसपछि थेगुस्थित सिन्छनजी चर्चमा नौँ हजार मानिस भेला भएर प्राथना गर्नेमध्य एक महिलामा सङ्क्रमण रहेछ । नजिकै अर्को शहरमा सोहि चर्चका संस्थापकको दाइको मृत्यु भयो । त्यसपछि अचानक संक्रमितको संख्यामा ह्वात्तै बृद्धि हुन थाल्यो । दैनिक हजारौँ सङ्क्रमित थपिन थाले ।
तत्कालिन समयमा धेरै सङ्क्रमित भएको देश चिनभन्दा दोस्रो स्थानमा कोरिया पुग्यो । सङ्क्रमित पत्ता लगाउन सरकारलाई ठूलो चुनौतीको सामना गर्नुपर्यो । चर्चले आफ्नो सदस्यहरुको सही तथ्याङ्क नदिएपछि प्रहरीले खोजी सुरु गर्यो । सम्भावितहरुलाई नियन्त्रणमा लिएर परीक्षण भयो । असिमित संख्यामा सङ्क्रमण बढेपछि अस्पतालमा बेडको अभाव हुन थालेकाले घर(घरमै पुगेर स्वास्थ्यकर्मीहरुले उपचार थाले ।
तीन दिन भित्र सेनाले अर्को आइसोलेसन तयार पारेर थप उपचारलाई निरन्तरता दिए । राजधानीबाट विशेषज्ञ टोली ल्याइयो । स्वास्थ्यकर्मीको अथक प्रयासमा मृत्युदर कम भयो । प्रधानमन्त्री जङ्ग से ख्युन उक्त सहरमै बसेर बिरामी र स्वास्थ्यकर्मीलाई हौसला दिइरहे । कोरियाको कुल सङ्क्रमि मध्ये असी प्रतिशत सोहि चर्चसँग सम्बन्धित भएको सञ्चार माध्यममा उल्लेख छ ।
नियन्त्रण गर्न कोरियन सरकारले विभिन्न प्रविधि मार्फत परीक्षणको दायरा बढायो । परीक्षण केन्द्र बढाइयो । सडकमै मोटरबाटै परीक्षण गर्न सकिने अस्थायी केन्द्रहरु बनाइए । सार्वजनिक स्थानमा शरीरको तापमान मापनयन्त्र राखी सम्भावितको पहिचान गरियो । १०० मिटर दूरीमा सङ्क्रमित भए थाहा पाउन सकिने मोबाइल एप बनायो । हरेक सार्वजनिक स्थानमा दैनिक जसो किटनाशक विषादी छर्कियो । परीक्षणका किट्सहरुको अभाव हुन नदिन तीन वटा कम्पनी मिलेर उत्पादनमा तीब्रता दिइयो ।
विदेश मन्त्री कांग युंग वाका अनुसार छिटो र धेरै परीक्षण अनि राम्रो उपचार विधिका कारण यहाँ सङ्क्रमणको दर कम भयो, साथमा मृत्यु पनि कम भए । उनले भने ‘हामीले ६०० भन्दा धेरै टेस्टिङ सेन्टर खोल्यौं । पचास भन्दा धेरै ड्राइभिङ स्टेशनमा स्क्रिनिङ गर्यौं र रिमोट टेम्परेचर स्क्यानर र घाँटीको खराबी जाँच्यौं, जनु केवल दश मिनेटमा सकिन्छ । एक घण्टाभित्र रिपोर्ट आउने व्यवस्था गर्यौं । हामीले हरेक ठाउँका फोन बुथलाई टेस्टिङ सेन्टरमा बदल्यौं ।’
ताइवानपछि दक्षिण कोरियाले जसरी कोरोना भाइरस विरुद्ध लडाइँ लड्यो यसलाई पूरै विश्वको लागि ‘रोल मोडल’ मानिएको छ । जुन बेला चाइनाले कठोर परिस्थितिको सामना गरिरहेको थियो, युरोप र अमेरिकाले मजाक गरिरहेका थिए । तर, दक्षिण कोरियाली राष्ट्रपति मुन जे ईन ले पूर्व तयारी अपनाई रहेका थिए । जुन दिन सङ्क्रमण देखियो, त्यसपछि भाइरस बिरुद्धको युद्धनै घोषणा गरेर आफ्नो संयन्त्र परिचालन गरे । फलस्वरुप आज पुरा विश्व त्रसित, आक्रान्त हँुदा दक्षिण कोरिया भने निर्वाद सामान्य स्थितिमा चलिरहेको छ । कल कारखाना, सार्वजनिक यातायात, अस्पताल, बजार, बैङ्क जस्ता आर्थिक तथा प्रशासनिक कार्यालय सबै खुला छन् ।
सरकारबाट घरमै बस्न आग्रह गरिएपनि किनमेल गर्न रोक लगाएको छैन । कोरोना सङ्क्रमित संख्या उच्च रहेको अन्य देशमा जस्तो सामानको अभाव भएको छैन् । मानिसहरु घरमै बसेर (थेग्बे) अर्थात् होम डेलिभरीमार्फत घरमै मगाएर सहज जीवन यापन गरी रहेका छन् । दक्षिण कोरियामा सङ्क्रमण जाँच्न सरकारले ठूला भवन, होटल, पार्किङ र सार्वजनिक स्थानमा थर्मल इमेजिङ क्यामेरा लगायो जसबाट ज्वरो पीडित व्यक्तिको तत्काल पहिचान गर्न सकियोस् ।
रेष्टुरेण्टमा पनि ज्वरो जाँचपछि मात्र ग्राहकले प्रवेश पाउने व्यवस्था गरियो । सामाजिक दुरी कायम गरियो । विशेषज्ञहरुले मानिसहरुलाई सङ्क्रमणबाट बचाउन हातको प्रयोग गर्ने तरिका पनि सिकाए । यदि व्यक्ति दाहिने हातबाट काम गर्छ भने उसलाई मोबाइल चलाउन, ढोकाको ह्याण्डिल समात्न र हरेक सानातिना काम गर्न बायाँ हातको प्रयोग गर्न सल्लाह दिइयो । यसैगरी, बायाँ हातले धेरै काम गर्नेलाई दाँया हात प्रयोग गर्न सल्लाह दिइयो । यस्तो गर्नुको कारण व्यक्ति जुन हातको धेरै प्रयोग दैनिक कामको लागि गर्छ त्यही हात अनुहारमा पनि जान्छ ।
यो विधि निकै प्रभावकारी रह्यो र यो विधि सामाजिक संजालमा पनि निकै भाइरल भयो । कोरोना सङ्क्रमणका केसहरु भेटिएपछि दक्षिण कोरियाले एक दिनको लागि पनि बजार बन्द गरेन । द्दण्ण्छ मा देखिएको सार्स नामक भाईरस को अनुभवले यो बेला गज्जव काम गर्यो । यो बिचमै संसदिय निर्वाचन पनि सफलता पुर्वक सम्पन्न भयो । ६३ प्रतिशत जनता सहभागी भएको चुनावमा सत्तारुढ पार्टीले बहुमत पायो । यसरी हेर्दा राष्ट्रपति मुन जे ईनको घट्दो लोकप्रियतालाई एकाएक भाइरसले बढायो ।
पहिले उत्तर कोरियासँगको वार्ता सफल गर्न नसकेको, कोरियाको अर्थतन्त्र मजबुत बनाउन नसकेको, मजदुर किसानको मर्म र भावना अनुरुप काम नगरेको जस्ता प्रचार बिपक्षीले गरिरहेका थिए । हाल बेलायत, अमेरिका, स्पेन, इटली, फ्रान्स, इरान जस्ता विकसित देशमा कोरोनाबाट हजारौंको मृत्यु भइसकेको छ । ती देशहरुमा कोरोना नियन्त्रण बाहिर छ । त्यसैले ती देशहरुमा रहेका कोरियन नागरिकहरु आफ्नै देश सुरक्षित ठान्दै कोरिया आइरहेका छन् ।
कोरियालाई धेरै देशले रोक लागाए पनि कोरियाले कुनैपनि देशलाई रोक लगाएको छैन । यसरी विदेशबाट आउने यात्रुहरुलाई कोरियाले विमानस्थलमै परिक्षणको व्यवस्था गरिदिएको छ । अप्रिल १ तारिखदेखि १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिदिएको छ । यदि बाहिर निस्केर उल्लङ्घन गरे विदेशीलाई भिषा रद्द गरिने र कोरियनलाई चर्को जरिवाना गरिने व्यवस्था गरिदिएका छन् ।
कोरियाको परिक्षण किट्स विश्वमै गुणस्तरीय ठानिएकोले युरोप अमेरिका लगायत सयौं देशमा निर्यात भइरहेको छ । कति देशलाई निःशुल्क सहयोग गरिरहेको छ । कोरियामा आजसम्म १० हजार ७७४ जना सङ्क्रमित रहेका छन् । नौँ हजार ७२ जना निको भइसकेका छन् । हालसम्म मृत्यु हनेको संंख्या २४८ जना छ, भने ६२ हजार ३०५ जनाले परीक्षण गराइसकेका छन् ।
अन्त्यमा,
नेपाल अहिले बन्दाबन्दीको स्थितिमा छ । दिनदिनै सङ्क्रमितको संख्या बढिरहेको छ । त्यो पनि धार्मिक मानिस नै ठूलो संख्यामा फेला प¥यो । उदयपुरको भुल्केमा, कोरियाको जस्तै । धर्म आशक्ति अन्धविश्वास हो, कमजोरी हो । भगवान छन् भन्ने अन्धविश्वासमा तत्व र प्रकृतिसँग मजाक नगरौँ । प्रकृतिको सजाय मृत्युदण्ड हुन्छ, जुन अहिले निर्दोष मानिसले पाइरहेका छन् ।
भौतिकवादी दुनियाँले प्रकृतिको भरपुर दोहन गरे तत्व नास भयो र जन्मियो यस्ता अनेकन भाइरस । कतिपयले यसलाई षड्यन्त्र (वायोलोजिकल वीपेन) भनेका छन् । खयर यो बहसको विषय हो, तर मेरो बुझाई प्राकृतिक भन्ने नै छ । यो भन्दा अगाडि पनि ईबोला, स्वयनफ्लु, डेङ्गु, एचआईभी जस्ता दर्जनौँ भाइरसले लाखौँ मानिसको ज्यान लिइसकेको छ । यस्ता प्रकोपले भौतिकवादी र फिरङ्गी जीवनशैलीलाई पूर्णरुपले अस्वीकार गरेको छ, त्यो हामीले अहिले युरोप अमेरिकामा देखिरहेका छौ । यसबाट पाठ सिकौँ र अपनाऔँ पूर्खौली जीवनशैली अनि दुनियाँलाई फेरि सम्झाआँै पूर्वीय दर्शन ।
लेखक राई हाल दक्षिण कोरियामै रहेका छन् ।