खोटाङ, १९ जेठ । हलेसी तुवाचुङ नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि जापानमा अध्ययनरत सोही नगरपालिका–५ दुर्छिमका शरद राईले आर्थिक सहयोग गर्नुभएको छ । दुर्छिमस्थित चुमाखी स्थायी घर भई हाल जापानको टोक्यो विश्वविद्यालयमा विद्यावारिधी अध्ययनरत राईले नगरपालिकाको कोरोना कोषमा रु एक लाख आर्थिक सहयोग गर्नुभएको हो ।
आफू जन्मिएको नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको समाचार सुनेपछि नियन्त्रणमा सहयोग गर्न थोरै भएपनि आर्थिक सहयोग गरेको राईले बताउनुभएको छ । “यस विषम घडीमा आफै गाउँ फर्किएर आफ्नो दाजुभाइको सेवा गरौँ भन्ने लाग्छ, तर आफ्नो पढाइको कारणले त्यो सम्भव छैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले स्थापना गरेको कोषमा थोरै भएपनि रकम जम्मा गरेर सहयोग गरेको हुँ ।”
जापानबाट राईले पठाउनुभएको रकम हलेसीस्थित माछापुछ्रे बैङ्कमा स्थापना गरिएको कोरोना रोकथाम तथा नियन्त्रण कोषको खातामा जम्मा गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले हाम्रो नगरपालिकाबासीलाई समेत छाडेन !”, उहाँले भन्नुभयो, “यो विषम परिस्थितिलाई सामना गर्न सबैको साथ र सहयोग जुटिरहेको छ ।”
नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा नेपाली काँग्रेसका युवा नेता जीतेन्द्रसिं ठकुरीले रु २५ हजार, होटल व्यवसायी सङ्घ हलेसीले रु २५ हजार, नेपाल रेडक्रस सोसाइटी उपशाखा बडहरेले रु २० हजार, माछापुछ्रे बैङ्कले रु ५० हजार, मङ्गलटारका पदम राईले ५० हजार र दुर्छिमका जनक राईले रु ३० हजार सहयोग गरेका छन् । यस्तै, नगरपालिकाका जनप्रतिनिधिले राज्यबाट पाउने सुविधाबापतको रुकम रु चार लाख २५ हजार, नगरपालिकामा कार्यरत कर्मचारीको रु एक लाख ३७ हजार ४५० र स्वास्थ्यकर्मीको रु एक लाख ५७ हजार ६५४ जम्मा भएको जनाइएको छ ।
नगरपालिकाको आन्तरिक स्रोतबाट रु एक लाख २० हजार, पुजीगतबाट रु ३० लाख ३५ हजार ४१५ र कोरोना जनसुरक्षा प्रदेश सरकारबाट रु दश लाख प्राप्त भएको नगरप्रमुख राईले बताउनुभयो । एघार वडा रहेको उक्त नगरपालिकामा गत वैशाख–३१ गतेसम्मा ४८ लाख ३९ हजार ५०० खर्च भइसकेको जनाइएको छ ।
क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, औषधि, आरडिटि र पिसिआर किट लगायतका स्वास्थ्य सामग्री खरिद र काठमाडौँमा रहेका नागरिकको उद्दारमा उक्त खर्च भएको नगरप्रमुख राईले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको कारण राजधानी काठमाडौँमा अलपत्र परेका नगरवासीका लागि नगरपालिकाले गत वैशाख–१२ र १३ गते २५ वटा रिजर्भ गाडी काठमाडौँ पठाएर एक हजार ३१८ जना उद्दार गरेर ल्याएको थियो ।
नगरपालिकाले गत वैशाख–१२ गते काठमाडौँको पेप्सीकोलाबाट उद्दार गरेर ल्याएको वडा नम्बर–७ महादेविस्थानका २० वर्षीय युवकमा कोरोना पुष्टि भएको छ । बा ४ ख २२११ नम्बरको बसमार्फत गाउँ ल्याइएका सङ्क्रमित युवकसहित ३८ जना सो नगरपालिका भित्रिएका वडाध्यक्ष चइन्द्र राईले बताउनुभएको छ ।
युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनको परिवारसहित ४३ जनाको पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेटेटिभ आएको जनाइएको छ । सङ्क्रमित युवकका आठ जनाको परिवार, उनीसँगै बसमा यात्रा गरेर आएका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतको स्वाब सङ्कलन गरेर विराटनगरमा परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।
सङ्क्रमित युवकको हाल विराटनगरमा उपचार भइरकेको जनाइएको छ । विराटनगरस्थित कोभिड अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य रहेको नगरप्रमुख राईले जानकारी दिनुभएको छ ।
हलेसीमा सङ्क्रमित भेटिएपछि जिल्ला अस्पतालको टोली गएर ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) परीक्षण गर्नेक्रममा दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ । आरडिटि रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरु र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणमा पठाइएको जिल्ला अस्पताल खोटाङका मेडिक अधिकृत डा. शैलेस श्रेष्ठले जानकारी दिनुभयो ।