खोटाङ, २० जेठ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको मङ्गगलबार बसेको १४ औँ बैठकले जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा सङ्कलित पिसिआर परीक्षण गर्न विराटनगर तथा काठमाडौँ पठाउँदा ढिलो रिपोर्ट आउने र बढी खर्च हुने भएकाले जिल्लामै ल्याब स्थापना गर्न पहल गर्ने निर्णय गरेको हो ।
ल्याब स्थापना गर्नका लागि जिल्लाका दश वटै स्थानीय तहसँग समन्वय गरेर संघ तथा प्रदेश सरकारसँग आवश्यक रकम र दक्ष जनशक्ति माग गर्ने निर्णय गरिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “पिसिआर परीक्षणका लागि जिल्लामा सङ्कलन गरिएका स्वाबको रिपोर्ट विराटनगर तथा राजधानी काठमाडौँबाट चार÷पाँच दिनमा मात्र आउने गरेको छ”, उहाँले भन्नुभयो, “बाहिरी जिल्लामा परीक्षण गर्न पठाउँदा यातायात भाडा, चिकित्सकको भत्ता लगायतका कारण बढी खर्च लाग्ने र ढिलोगरी रिपोर्ट आउने भएकाले जिल्लामै परीक्षण गर्ने वातावरण मिलाउन ल्याब स्थापना गर्ने निर्णय गरिएको हो ।”
जिल्लामा सङ्कलन गरिएका स्वाबको पिसिआर परीक्षण गर्न बाहिरी जिल्ला पठाउँदा एक जनाको रु २० देखि २५ हजारसम्म खर्च हुने गरेको जिल्ला अस्पताल खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो । जिल्लामा एक जनाको आरडिटि परीक्षण गर्दा रु एक हजार ५०० खर्च हुने गरेको जनाइएको छ ।
जिल्लामा पिसिआर ल्याब स्थापना गर्न रु २५ लाखदेखि रु एक करोड ५० लाखसम्मको उपकरण खरिद गर्न पाइने जनाइएको छ । उपकरण खरिद गर्न जिल्लाकै लगानीमा सम्भव भएपनि दक्ष जनशक्ति व्यवस्थापनमा कठिन हुने सम्भावना रहेको छ ।
सङ्क्रमण नियन्त्रणमा हालसम्म गरिएका उपलब्धी लगायतका विषयमा छलफल समेत भएको समितिको बैठकले जिल्लामा निर्माणाधीन अवस्थामा रहेका भौतिक पूर्वाधारका आयोजनाका लागि आवश्यक बाहिरी जिल्लाका जनशक्ति ल्याउनसमेत पहल गर्ने निर्णय गरेको छ । जिल्लामा सञ्चालित अधिकांश आयोजनाका काममा खटिएका प्राविधिक तथा दक्ष कामदार बन्दाबन्दीका कारण आ–आफ्नो गृह जिल्ला गएकाले उनीहरुलाई पुनः काममा फर्काउन पहल गर्ने निर्णय गरेको हो ।
आयोजनाका काममा आउने बाहिरी जिल्लाका उनीहरुलाई सम्बन्धित स्थानीय तहले अनिवार्य रुपमा पिसिआर तथा आरडिटि परीक्षण गराएर मात्र काममा खठाउने निर्णय भएको छ । बाहिरी जिल्लाबाट ल्याइने कामदारबाट सङ्क्रमणसमेत भित्रिने खतरा रहेकाले नियन्त्रण गर्न अनिवार्य रुपमा पिसिआर तथा आरडिटि परीक्षण गराउने निर्णय गरिएको संयोजक चाम्लिङले बताउनुभयो ।
यस्तै, जिल्लामा सञ्चालित बैङ्क तथा वित्तीय संस्था खोल्न यसअघि निर्धारण गरिएको समय तालिका समितिको बैठकले हटाएको छ । सम्बन्धित संस्थाको केन्द्रीय कार्यालयले निर्धारण गरेको निर्णय अनुसार सञ्चालन गर्न जिल्लामा सञ्चालित सबै बैङ्क तथा बित्तीय संस्थालाई आग्रह गरिएको समितिले जनाएको छ ।
यसैबीच, जिल्लाका बिरामी उपचारका लागि काठमाडौँ तथा विराटनगर लैजान र ल्याउन प्रयोग गरिने रिजर्भ जीपको भाडा यातायात व्यवसायीले मनपरी लिने गरेकामा आगामी दिनमा एकरुपता ल्याउने निर्णय गरिएको छ । यसअघिसम्म आफूखुसी भाडा लिँदै आएको जीपले दिक्तेल–विराटनगरका लागि रु २० हजार र दिक्तेल–काठमाडौँका लागि रु १८ हजार मात्र लिन पाउनेगरी निर्णय गरिएको जनाइएको छ ।
जिल्लामा सञ्चालित एम्बुलेन्सको संख्या कम भएकाले सम्भावित खतरालाई न्युनिकरण गर्न दुई वटा जीपलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न मिल्नेगरी तयारी अवस्थामा राख्ने पनि निर्णय गरिएको छ । जीपलाई बिरामी तथा कोभिड–१९ मैत्री बनाउन नेपाली सेनाको दिक्तेलस्थित गोरखनाथ गणलाई जिम्मा दिइएको छ ।
जिल्लामा हालसम्म हलेसी तुवाचुङ नगरपालिकाका २० वर्षीय एक युवकमा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँबाट उद्दार गरेर ल्याइएका उनको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।