हलेसीका थप तीन जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या चार पुग्यो

Halesi Khabar
0 Shares

खोटाङ, २२ जेठ । खोटाङका थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बीस वर्षीय एक युवकमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको हलेसी तुवाचुङ नगरपालिकामा आज (बिहिबार) थप तीन जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित हुनेमा वडा नम्बर–१ बाहुनीडाँडाका २१÷२१ वर्षीय दुई युवक र वडा नम्बर–५ दुर्छिमका ४५ वर्षीय पुरुष रहेका छन् । भारतबाट आएका उनीहरु हालसम्म क्वारेन्टिनमा बसिरहेका नगरउपप्रमुख बिमला राईले बताउनुभयो ।

बाहुनीडाँडाका दुई युवक भारतको कानपुरबाट जेठ–११ गते र दुर्छिमका ४५ वर्षीय पुरुष गोरखपुरबाट जेठ–१६ गते गाउँ आएका थिए । गाउँ प्रवेश गर्नासाथ क्वारेन्टिनमा राखिएका उनीहरुको गत जेठ–१७ गते स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो ।

रोजगारीको सिलसिलामा भारतमा बसेर आएका तीनै जनाको पिसिरआर रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख इवन राईले बताउनुभयो । “पिसिआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएपछि हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “सङ्क्रमित तीनै जनालाई उपचारका लागि आजै एम्बुलेन्समार्फत विराटनगरस्थित कोभिड अस्पताल पठाउने तयारी गरिएको छ ।”

भारतबाट आएपछि उनीहरु परिवारको सम्पर्कमा पुग्न नपाएपनि दुर्छिमका सङ्क्रमितसँग रावाबेँसी गाउँपालिकाकाको खार्पाका एक जना र ऐसेलुखर्क गाउँपालिका बाकाचोलका एक व्यक्तिले एउटै बसमा सँगै यात्रा गरेको खुलेको छ । उनीहरुको खोजी गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

यसअघि सोही नगरपालिकाको वडा नम्बर–७ महादेविस्थानका युवकमा कोरोना पुष्टि भएको थियो । काठमाडौँबाट गत वैशाख–१२ गते उद्दार गरेर ल्याइएका उनको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँबाट घर आएका सङ्क्रमित युवकको कन्ट्याक्ट ट्रेसिङका गर्नेक्रममा उनीसँगै यात्रा गरेका एवम् भारतबाट आएका ३३ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणमा पठाइएको थियो । सङ्क्रमित युवकको कन्ट्याक्ट ट्रेसिङका क्रममा ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएका दुई जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ देखिएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाका चार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अन्य स्थानीय तहमा उच्च सतर्कता अपनाइएको छ । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रको प्रवेश नाका पूर्णरुपमा बन्द गरेको छ भने, परीक्षणलाई तीव्रता दिएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म ९५१ जनाको आरडिटि र २४८ जनाको पिसिआर परीक्षण गरिएको जनाइएको छ । आरडिटि परीक्षणमा पोजेटिभ रिपोर्ट देखिएका ऐसेलुखर्क गाउँपालिकाका आठ जनासहित १९ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया