खानपान, शारीरिक व्यायाम र सरसफाइमा ध्यान दिइएमा काेराेना जित्न सकिन्छ : सङ्क्रमित युवक

Halesi Khabar
0 Shares

खोटाङ, २२ जेठ । कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना हुनुभएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र राई डिस्चार्ज हुनुभएको छ । गत जेठ–६ गते पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भोलिपल्टै उपचारका लागि कोभिड अस्पताल विराटनगरमा भर्ना हुनुभएका राई १४ दिनपछि बिहिबार डिस्चार्ज हुनुभएको हो ।

कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएपनि नगरपालिकाबाट सवारी साधन पुग्न बाँकी रहेकाले राईलाई पुनः अस्पतालमै राखिएको छ । सङ्क्रमण देखिएको दिनदेखि अहिलेसम्म सामान्य अवस्थामा रहनुभएका राईलाई जिल्ला फर्किएपछि १४ दिन होम क्वारेन्टिनमा बस्न लगाउने सर्तमा कोभिड अस्पतालले डिस्चार्ज दिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताउनुभएको छ ।

सङ्क्रमित राई अस्पतालमा भर्ना भएपनि दुई÷तीन दिन बाहेक औषधि सेवन नै नगरी डिस्चार्ज हुनुभएको जनाइएको छ । काठमाडौँबाट गत वैशाख–१२ र १३ गते नगरपालिकाले उद्दार गरेर ल्याइएका एक हजार ३१८ जनामध्ये ३४ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणमा गर्दा उहाँलाई सङ्क्रमण देखिएको थियो ।

आफूलाई पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको दिन सामान्य रुघाखोकी लाग्नु बाहेक कुनै लक्षण नदेखिएको राईले बताउनुभएको छ । “सङ्क्रमण पुष्टि हुनुभन्दा पहिले र अस्पतालले डिस्चार्ज गर्दासम्म कुनै समस्या भएको छैन”, उहाँले भन्नुभयो, “सङ्क्रमण देखियो भनेर आत्तिनुभन्दा उच्च मानोबलका साथ खानपान, शारीरिक व्यायाम र सरसफाइमा ध्यान दिइएमा कोरोना जित्न सकिने रहेछ !”

वैशाख–१२ गते काठमाडौँबाट घर आउनुभएका राईले डिस्चार्ज पाएलगत्तै उनलाई ल्याउन नगरपालिकाबाट सवारी साधन पठाइसकिएको नगरप्रमुख इवन राईले बताउनुभएको छ । “अस्पतालबाट डिस्चार्ज भएको कुरा आज अबेर मात्र जानकारी भयो”, उहाँले भन्नुभयो, “नगरपालिकाबाट सवारी साधन पठाइ सकिएकाले उनलाई ल्याएर स्वास्थ्यकर्मीकै सुझावमा होम क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ ।”

यसैबीच, सोही नगरपालिकाका तीन जना व्यक्तिमा बिहिबार पुनः कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा वडा नम्बर–१ बाहुनीडाँडाका २१÷२१ वर्षीय दुई युवक र वडा नम्बर–५ दुर्छिमका ४५ वर्षीय पुरुष रहेका छन् ।

भारतबाट आएका उनीहरुलाई सङ्क्रमण पुष्टि भएलगत्तै उपचारका लागि बिहिबार नै एम्बुलेन्समार्फत कोभिड अस्पताल विराटनगर पठाइएको नगरपालिकाले जनाएको छ । बाहुनीडाँडाका दुई युवक भारतको कानपुरबाट जेठ–११ गते र दुर्छिमका ४५ वर्षीय पुरुष भारतकै गोरखपुरबाट जेठ–१६ गते गाउँ आएका थिए ।

रोजगारीको सिलसिलामा भारतमा बसेर आएका तीनै जनालाई नगरपालिकाले बनाएको क्वारेन्टिनमा राखिएको थियो । भारतबाट आएपछि उनीहरु परिवारको सम्पर्कमा पुग्न नपाएपनि दुर्छिमका सङ्क्रमितसँग रावाबेँसी गाउँपालिकाकाको खार्पाका एक र ऐसेलुखर्क गाउँपालिका बाकाचोलका एक व्यक्तिसँगै यात्रा गरेको खुलेको छ ।

सङ्क्रमित व्यक्तिसँगै यात्रा गरेर आउने उनीहरुको खोजी गर्ने काम भइरहेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षणमा पठाउन जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाका चार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अन्य स्थानीय तहमा उच्च सतर्कता अपनाइएको छ । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्र प्रवेश गर्ने नाका पूर्णरुपमा बन्द गर्नुका साथै कोरोना परीक्षणलाई तीव्रता दिएका छन् ।

तपाईको प्रतिक्रिया