खोटाङको चार स्थानीय तहमा पन्ध्र शैयाको अस्पताल बनाउन बजेट विनियोजन

Halesi Khabar
0 Shares

खोटाङ, २३ जेठ । आर्थिक वर्ष २०७७÷०७८ मा खोटाङको चार स्थानीय तहमा १५ शैयाको अस्पताल बन्ने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, केपिलासगढी गाउँपालिकाको बाक्सिला, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा १५ शैयाको अस्पताल बन्ने भएको हो ।

प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल र जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने सरकारको अवधारणा अनुसार पहिलो चरणमा चार स्थानीय तहका लागि बजेट विनियोजन भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो । “चार स्थानीय तहमा आर्थिक वर्ष २०७७÷०७८ लागू हुनासाथ १५ शैयाको अस्पताल निर्माणको काम प्रारम्भ हुनेछ भने, बाँकी पाँच स्थानीय तहमा अर्को आर्थिक वर्ष बजेट विनियोजन गरिनेछ”, उहाँले भन्नुभयो, “पन्ध्र शैयामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई पनि ५० शैयामा स्तरोन्नति गर्ने प्रक्रिया शुरु भएको छ ।”

सांसद भट्टराईका अनुसार केपिलासगढी गाउँपालिकाका लागि रु तीन करोड ७० लाख, हलेसी तुवाचुङ नगरपालिका रु तीन करोड २८ लाख, जन्तेढुङ्गा गाउँपालिका लागि रु तीन करोड २८ लाख र ऐसेलुखर्क गाउँपालिकाका लागि रु तीन करोड दुई लाख बजेट विनियोजन भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद भट्टराईले खोटाङको चार स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेकामा नेपाल सरकार रस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सामाजिक सञ्चाल फेसबुकमार्फत धन्यवाद दिनुभएको छ ।

दश स्थानीय तह रहेको पूर्वी पहाडी जिल्ला खोटाङमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि आ–आफ्नै क्षेत्रमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि हर्षित भएका छन् । चार स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणका लागि बजेट विनियोजनमा संयोजन गर्नुहुने सांसद भट्टराईलाई जिल्लाबासीले सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद दिइरहेका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा एउटा मात्र १५ शैयाको जिल्ला अस्पताल र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ । पूर्वी पहाडी जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने खोटाङमा सुविधा सम्पन्न अस्पताल र दक्ष स्वास्थ्यकर्मी नहुँदा अधिकांश बिरामीलाई उपचारका लागि बाहिरी जिल्ला लानुपर्ने बाध्यता छ ।

जिल्लाका सामान्यदेखि गम्भीर किसिमका बिरामीलाई उपचारका लागि राजधानी काठमाडौँ तथा विराटनगर लैजानुपर्दा ठूलो आर्थिक खर्च हुने गरेको छ । कतिपय गम्भीर किसिमका बिरामीलाई अन्यत्र उपचार गर्न लैजानका लागि हेलिकोप्टरसमेत चार्टर गर्नुपर्ने बाध्यता रहेको छ ।

तपाईको प्रतिक्रिया