लकडाउनमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न साकेलामा अनुगमन

Halesi Khabar
0 Shares

खोटाङ, २६ जेठ । साकेला गाउँपालिकाको संयोजनमा सोमबार मानेभञ्ज्याङ्गमा बजार अनुगमन गरिएको छ । लकडाउनको मौका छोपेर व्यापारीले म्याद गुज्रिएको दैनिक उपभोग्यवस्तु तथा औषधि बिक्री÷वितरण गरिरहेको स्थानीय बासिन्दाबाट गुनासो आएपछि दर्जनबढी होलसेल तथा खुद्रा पसलको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा म्याद गुज्रिएका टप बिस्कुट, आईसपप, किन्डर बल्स, रारा चाउचाउ, मेमोरी बिस्कुट, मिक्स मसला, बटर कुकिज, कुरमुरे, पोटेटो क्रेकर, सुसेली, मिटमसला तथा केही औषधि बरामद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताउनुभयो । “अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका उपभोग्य सामग्री फेला पारेर बरामद गरिएको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा त्यस्ता दैनिक उपभोग्य सामग्री बिक्री वितरण नगर्न निर्देशन दिइएको छ ।”

साकेला गाउँपालिकामा कुनै पनि बहानामा गरिने मुल्य वृद्धि, कालोबजारी तथा अखाद्यवस्तु बिक्री वितरणमा रोक लगाउन प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा टोली परिचालन गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “अनुगमन टोलीले जुनसुकै समयमा बजार अनुमगन गर्छ”, उहाँले भन्नुभयो, “पहिलो पटक सुझाव दिँदा पनि अटेर गर्ने व्यापारीको पसल दोस्रो पटकदेखि सिल गरिनेछ ।”

बरामद गरिएको अखाद्य वस्तु प्रमुख प्रशासकीय अधिकृत मगर, सामाजिक विकास अधिकृत दुर्गबहादुर राई, इलाका प्रहरी कार्यालय मात्तिमका प्रमुख शम्भुप्रसाद पौडेल, स्वास्थ्य शाखा संयोजक रिता ढकाल, उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय साकेला गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर कटवाल लगायतको रोहबरमा जलाएर नष्ट गरिएको छ ।

तपाईको प्रतिक्रिया