जन्तेढुङ्गा गाउँपालिकाका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

Halesi Khabar
0 Shares

खोटाङ, २९ जेठ । जन्तेढुङ्गा गाउँपालिकाका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतका विभिन्न स्थानबाट आएका जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका नौसहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर १ बिराटनगर पठाइएकामा बिहिबार सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका प्रमुख शंकरबहादुर राईले बताउनुभयो । वडा नम्बर–५ चिसापानीका आरडिटी रिपोर्ट पोजिटिभ देखिएका एक जना र दाङबाट आएका दुई कर्मचारीको पिसिआर रिपोर्ट पनि नेगेटिभ देखिएको जनाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण भएरनभएको पत्ता लगाउनका लागि ९१ जनाको आरडिटी परीक्षणकाक्रममा चिसापानीका एक जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले जानकारी दिनुभयो । नियमित गाउँमै बसिरहेका भए पनि उनको आरडिटी रिपोर्ट पोजिटिभ देखिएको जनाइएको छ ।

यसअघि जन्तेढुङ्गा गाउँपालिकाका सङ्क्रमणको आशंका गरिएका पाँच जनाको पिसिआर परीक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म चार जनामा सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण देखिएका चारै जना हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दा हुन् । सङ्क्रमितमध्ये एक जना उपचारपछि घर फर्किएका छन् भने, तीन जना उपचाररत रहेको नगरप्रमुख इवन राईले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया