‘डेथबडी’ व्यवस्थापनका लागि तयारी रहन सबै स्थानीय तहलाई आग्रह

Halesi Khabar
0 Shares

खोटाङ, १ असार । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले डेथबडी व्यवस्थापन गर्न तयारी अवस्थामा रहन स्थानीय तहलाई आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण हुने डेथबडी व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै समन्वय समितिले जिल्लाका दश वटै स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरेको हो ।

समितिको १५ औँ बैठकले डेथबडी व्यवस्थापन गर्नुपर्ने अवस्था आए सम्बन्धित स्थानमा घाट तोक्ने र त्यसका लागि सम्बन्धित स्थानीय तहले नै आवश्यक सामग्रीको व्यवस्था गर्ने वातावरण मिलाउन आग्रह गरिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर जिल्लामा पनि नपर्ला भन्न सकिन्न”, उहाँले भन्नुभयो, “यदि त्यस्तो भएको खण्डमा डेथबडी व्यवस्थापन गर्न जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र नेपाली सेनासँग आवश्यक समन्वय गर्न भनिएको छ ।”

यसैबीच, समितिको उक्त बैठकले सरकारले लागू गरेको बन्दाबन्दीको समयमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न संयुक्तरुपमा बजार अनुगमन गर्ने निर्णय गरेको छ । बन्दाबन्दीको अवधिमा कतिपय व्यवसायीले धेरै मुल्य लिने गरेको र मिति नाघेका सामान बिक्री गरिरहेको जनगुनासोका आधारमा बजार अनुगमन गर्ने निर्णय गरिएको हो ।

केही दिनभित्रै उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासन कार्यालय, प्रहरी, नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालयमार्फत बजार अनुगमन गर्ने निर्णय गरिएको समितिका संयोजक चाम्लिङले बताउनुभयो । “बन्दाबन्दीको अवधिमा पनि जिल्लामा आवश्यक दैनिक उपभोग्यवस्तु प्रयाप्त रहेको पाइएको छ”, उहाँले भन्नुभयो, “प्रयाप्त मात्रामा दैनिक उपभोग्यवस्तु हुँदाहुँदै पनि विभिन्न बहाना देखाएर हुन सक्ने कालोबजारी नियन्त्रण गर्न संयोक्त रुपमा अनुगमन गर्ने निर्णय गरिएको हो ।”

यस्तै, सङ्क्रमितको संख्यालाई मध्यनजर गर्दै प्रत्येक गाउँपालिकामा १० बेडको, नगरपालिकामा २० बेडको तथा दिक्तेलमा प्रदेश सरकारको सहयोगमा ५० बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको छ । बैठकमा आर्थिक वर्षको अन्त्या हुन लागेको र लकडाउन पनि खुकुलो भएकोले जिल्ला बाहिर रहेका कर्मचारी लगायतलाई सकेसम्म रोक्ने र आउनैपर्ने भए अनिवार्य आरडिटि गराएर क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको समितिले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका चारै जना सङ्क्रमितमध्ये एक जना उपचारपछि घर फर्किएका छन् भने, तीन जना उपचाररत रहेका जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया