सोभेका २८ घर परिवारलाई स्वच्छ खानेपानीको सुविधा

Halesi Khabar
0 Shares

खोटाङ, २ असार । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित सोभेमा खानेपानी योजना सञ्चालनमा ल्याइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको रु दश लाख बजेटमा सोभे खानेपानी योजना सञ्चालनमा ल्याइएको हो ।

आयोजनाबाट १३ वटा धारामार्फत २८ घर परिवारलाई पानी वितरण गरिएको स्थानीय उपभोक्ता जगत किरातीले बताउनुभयो । स्थानीयले लकडाउनकैबेला खानेपानी योजनाको काम पुरा गरेका हुन् ।

खानेपानी योजना सञ्चालनमा आएपछि खोला वा कुवामा पुगेर पानी ल्याउनुपर्ने वाध्यता अन्त्य भएको छ । सोभेका स्थानीय स्थानीय भानुमती खोलाबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका थिए ।

छङ्छङ्गे मुहान भएको खानेपानी आयोजना सोमबार गाउँपालिका प्रमुख शंकरबहादुर राईले औपचारिक रुपमा उद्घाटन गर्नुभयो । खानेपानी योजना उद्घाटनकाक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिमला राई लगायतको उपस्थिति रहेको थियो ।

लामो समयसम्म खानेपानीको समस्या भोग्दै आएका सोभेका स्थानीय बासिन्दा घर–घरमा धारामार्फत आएको स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि हर्षित भएका छन् । सोभे खानेपानी योजनाका लागि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट बजेट विनियोजन गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया