खोटाङ, ४ असार । बच्चा सकुशल जन्मिएपनि सालनाल अड्किएर समस्यामा पर्नुभएकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया अनिता राई (मगर)लाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । गएराति करीब १ बजे सकुशल छोरी जन्माउनुभएकी अनितालाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत बिहिबार अपरान्ह थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको हो ।
सुत्केरी गराउन स्वास्थ्यचौकी खोटाङबजार पुग्नुकी अनिताले छोरीलाई सकुशल जन्म दिएपनि उहाँको स्वास्थ्यमा आएको समस्या समाधान नभएपछि थप उपचारका लागि काठमाडौँस्थित प्रसुतिगृह थापाथली पठाइएको अनिताकी आफन्त रकेट राईले बताउनुभयो । “स्वास्थ्यचौकीमा एक्सरे गर्दा पाठेघरमा सालनाल अड्किएको छ भन्यो”, उहाँले भन्नुभयो, “सुत्केरी भएको लामो समय बितिसक्दा पनि नझरेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत राजधानी काठमाडौँ पठाइएको हो ।”
बन्दाबन्दीका कारण अन्य यातायातका सवारी साधन सञ्चालन नभएपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहलमा नेपाली सेनाको हेलिकोप्टर मगाएर सुत्केरीको उद्दार गरिएको खोटेहाङ गाउँपालिका प्रमुख प्रदिप राईले बताउनुभयो । “उद्दार गरेर काठमाडौँ पु¥याइएकी तारा अस्पताल भर्ना भइसक्नुभएको छ”, उहाँले भन्नुभयो ।
अनिताको उद्दार, उपचार लगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद भट्टराईले बताउनुभयो । “मौषम प्रतिकुलताका बाबजुध नेपाली सेनाको हेलिकोप्टरमार्फत सुत्केरीको सफल उद्दार गरिएको छ”, उहाँले भन्नुभयो, “काठमाडौँ अवतरण हुनासाथ अस्पताल भर्ना गरेर उपचार शुरु गरिएकी सिकिस्त बिरामी अनिताको स्वास्थ्यमा समेत क्रमिक सुधार आएको पाइएको छ ।”
केही दिनदेखि लगातार परिरहेको वर्षा र हुस्सुका कारण समयमा हेलिकोप्टर अवतरण गर्न नसक्दा सुत्केरीको उद्दारमा ढिलाइ भएको जनाइएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत अनितासँगै हालसम्म जिल्लाका तीन जना सुत्केरीको उद्दार गरिसकिएको छ ।