खोटाङ, ९ असार । पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि गएराति जिल्ला अस्पताल खोटाङमा भर्ना हुनुभएकी मन्दिराको गर्भमा रहेको बच्चा पेटभित्रै मरेको थाहा भएपछि थप उपचारका लागि आज (मङ्गलबार) मध्यान्ह हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौँ पठाइएको हो ।
सुत्केरी व्याथाले च्यापेर सिकिस्त बिरामी बनेकी मन्दिराको रक्तश्रावसमेत भइरहेकाले थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. नारायण बरालले बताउनुभयो । “गएराति अबेर अस्पताल ल्याइएकी मन्दिराको बाटैमा पेटभित्र रहेको बच्चा मरिसकेको अनुमान गरिएको छ !”, उहाँले भन्नुभयो, “ढिलोगरी अस्पताल ल्याइएकी मन्दिराको रक्तश्राव भइरहेकाले आमाको समेत ज्यान जोखिममा पर्नेहुँदा थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसुतिगृह रिफर गरिएको हो ।”
दोस्रो पटक गर्भवती हुनुभएकी मन्दिरालाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत ग्राण्डी हस्पिटलको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौँ पठाइएको जनाइएको छ । कलिलै उमेरमा वैवाहिक बन्धनमा बाँधिनुभएकी मन्दिराको तीन वर्षीय छोरा छन् ।
मन्दिराको उद्दार, उपचार लगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “मौषम प्रतिकुलताका बाबजुध मन्दिरालाई हेलिकोप्टरमार्फत उद्दार गर्न सफल भइएको छ”, उहाँले भन्नुभयो, “काठमाडौँ अवतरण हुनासाथ अस्पताल भर्ना गरेर उपचार शुरु गरिएकी मन्दिराको स्वास्थ्यमा समेत क्रमिक सुधार आएको पाइएको छ ।”
केही दिनदेखि लगातार परिरहेको वर्षा र बाक्लो हुस्सुका कारण समयमा हेलिकोप्टर अवतरण गर्न नसक्दा सुत्केरीको उद्दारमा ढिलाइ भएको जनाइएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत मन्दिरासँगै हालसम्म जिल्लाका चार जना सुत्केरीको हेलिकोप्तरमार्फत उद्दार गरिसकिएको छ । तस्वीर उपलब्ध छ ।