खोटाङ, १४ असार । भारतबाट तराई प्रवेश गरेको सलह किरा खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएको छ । ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा देखिएको हो ।
शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ । जिल्लाका विभिन्न ठाउँमा एकसाथ सलह किरा देखिएपछि जिल्लास्थित स्थानीय तहका कृषि शाखा प्रमुख तथा कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय प्रमुखको आपतकालीन बैठक अहिले बसिरहेको छ ।
वर्षा भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माल्खुमा घरको भित्तामा आएर बसिरहेको अवस्थामा सलह किरा देखिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “बालीनालीमा देखिएको छैन, घरको भित्तामा आएर बसेको अवस्थामा २०–२५ वटा सलह फेला परेको छ”, उहाँले भन्नुभयो, “लगातार परिरहेको पानीले रोकेर घरमा ओत लागेको हुन सक्छ ।”
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको बैङ्कचोकका एक पसल, सरस्वती माविको भित्ता लगायतमा पनि केही सलह किरा फेला परेको छ । बैङ्कचोकमा भेटिएको सलह किरा स्थानीय बासिन्दाले पहिचानका लागि लिएर आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रशार अधिकृत धर्मेन्द्र कलौनीले जानकारी दिनुभयो ।
समूहमा देखिनुपर्ने सलह एक–दुई वटा मात्र देखिएको विषयमा अध्ययन भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले पनि दिक्तेलमा छिटफुट मात्रामा सलह किरा फेला परेको जानकारी आए पनि पुष्टि हुन बाँकी रहेको बताउनुभयो ।