खोटाङ, १४ असार । खोटाङका थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्षीय र ३८ वर्षीय पुरुष, वडा नम्बर–१४ बुइपाका २५ वर्षीया महिला र ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलकी ३० वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सोल्माका १८ वर्षीय युवक भारतबाट तथा अन्य तीन जना तेस्रो मूलुकबाट आएका खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । विभिन्न स्थानबाट आएपछि क्वारेन्टिनमा राखिएका उनीहरुको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि असार १० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
घर जाँदै गरेको अवस्थामा ऐसेलुखर्क गाउँपालिकाकी महिलाको दिक्तेलमा स्वाब सङकलन गरेर गाउँ पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभएको छ । सङ्क्रमितलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर पठाउने तयारी गरिएको छ ।
सङ्क्रमितमध्ये दुई जना क्वारेन्टिनमा र दुई आ–आफ्नै घरमा रहेकाले उनीहरुको घर तथा टोल सिल गरिएको जनाइएको छ । उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्र्याक ट्रेसिङ चेक गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो ।
यसअघि हलेसी तुवाचुङ नगरपालिकाका चार जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । जिल्लामा हालसम्म ४४१ जनाको मात्र पिसिआर परीक्षण गरिएको जनाइएको छ ।