–भीम राई
गाउँमा किसानलाई यतिबेला निकै चटारो छ । मुठी खाएर मुरी उब्जाउने समय हो यो ग्रामिण किसानका लागि । उनीहरुका लागि हल गोरु घसाउनु, खेतको आँठा काट्नु, खेत रोप्ने बाउसे र रोपाहारहरु खोज्नु, पानीदेखि खानेसम्मको जोहो गर्नु खेती किसान गर्नेहरुका लागि कम शास्ती छैन । यहि समयमा खेतमा मकै पाकीसकेको छ निकाल्नु प¥यो । पाखाबारीमा कोदो रोप्ने मौसम पनि यहि हो ।
कोदो रोप्ने बारीको खनजोत गर्नु उत्तिकै हतारो गर्नुपर्ने समय भएकाले छुट्याउनै भएन । यी र यस्तै बग्रेल्ती कामहरुकै कारणले मानिसहरु हतारो परेको समयलाई सङ्केत गर्न ‘असारको पन्ध्र’ भन्ने गरेका छन् । असारको पन्ध्र खास गरेर किसानको कामको प्रकृति हेरेर बनाइएको होला । तर, यतिखेर नेपालमा भने यो उखानले सबै तह र तप्काका मानिसलाई भेट्ने गरेको छ । असार आर्थिक वर्षको अन्तिम महिना हो ।
नेपालमा साउन महिनाबाट नयाँ आर्थिक वर्षको शुरुवात हुने गर्दछ । त्यसैलेपनि नेपालमा आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी अड्डाहरु हिसाब किताब मिलानमा व्यस्त रहन्छन् । फिल्डमा नसकिएको काम कागजमा सक्ने यो सबैभन्दा सजिलो मौसम हो । विशेष चटारो किसानलाई भन्दा बढी नेता तथा कर्मचारीलाई हुने गर्दछ । ठेकेदार र उपभोक्ता समितिका अध्यक्षलाई समेत यो असारको पन्ध्रले निकै चटारो दिन्छ ।
वर्षभरी काम गर्न आलटाल गर्ने र असार आउन लागेपछि विकास निर्माणको काममा निकै हतारो गर्ने प्रचलन नेपालको हकमा निकै पुरानो हो । हाम्रो जिल्लामा पनि यो प्रवृत्ति नहुने कुरै भएन । जिल्लामा भएका सबै गतिविधीहरु जेठ र असारमा निकै बढ्छन् । खेतीपातीको सिजनमा भौतिक पूर्वाधारका कामहरु हुन थालेपछि गाउँमा खेतीपाती गर्नेहरु समस्यामा पर्छन् ।
विकास निर्माणको कामहरु केहि त हुन्छन् तर, कतिपय कागजमा मिलाउनेकाम बाहेक हुँदैन । यो सबै विकासे अड्डाहरुको सरुवा रोग हो । यसलाई न्यूनीकरण गर्ने बारेमा कसैको ध्यान जान सकेको पाइदैन । यस पटक विश्व नै कोरोना (कोभिड–१९)को सङ्क्रमणबाट गुज्रिरहेको छ । यस्ते बेला विकास निर्माणको कामहरु अलिकम नै भएका छन् ।
२०७६ को चैत ११ गतेबाट नेपालमा शुरु भएको लकडाउनले सबै कामहरु प्रभावित बनाएको छ । जति प्रभावित भएपनि विकासका नाममा आएका बजेटहरु फिर्ता नजाउन भनेर आर्थिक वर्षको अन्ततिर नै भएपनि उपभोक्ता समिति बनाउने र खात्राक खुत्रुक काम गर्ने बजेट निकासा गरिहाल्ने मनोविज्ञान आम जनप्रतिनिधि तथा उपभोक्ता समितिको रहेको छ ।
एक त वर्षादको समय त्यसमाथि लकडाउनले केहि गर्न पाइएन भनेर गरिने गुनासो यसपटक सबै भन्दा ठूलो ओखती भएको छ । उनीहरुलाई । ठेकेदार तथा उपभोक्ता समितिका अध्यक्षलाई राम्रो अवसर मिलेको छ ।
उनीहरुलाई काम सकाउने भन्दा बढी समय थप्ने राम्रो अवसरका रुपमा लकडाउन लागेको छ । सम्झौता गर्दा तोकिएको समयसिमा भित्र काम हुन नसक्दा चिन्ता भन्दा बढी कसरी कागज मिलाएर रकम निकासा गर्ने भन्ने विषय उनीहरुको टाउको दुखाईको विषय बन्न पुगेको छ ।
असारे विकासले कर्मचारीहरु समेत व्यस्त बनेका छन् । कुन योजना कहिले सकिने भन्ने सम्झौतापत्रमा उल्लेख भएपनि काम नसकी रकम भुक्तानी गर्नुपर्ने दबाद उनीहरुलाई आइलागेको छ । अहिले विकासे अड्डा वरीपरि निकै मानिसहरुको भिडभाड बढेको छ । विकास माग्ने भन्दा नी विकास मिलाउने नाममा उनिहरुको सक्रियता देखिन्छ । हातमा फायल बोकेर दौडिरहेकाहरु निकै लामो रेसमा निस्केका धावक भन्दा कम लाग्दैनन् । लगातार कामको चाप बढीरहेका छन् ।
तरपनि कतिपय सबै काम पूर्णरुपमा सम्पन्न भइसकेका योजनाहरुको कामपनि हुन नसकीरहेको उपभोक्ताहरुले गुनासो पनि गर्न थालेका छन् । विधि र प्रकृया नपुगेकाले भुक्तानी गर्न नसकिएको जवाफ सम्बन्धित निकायले जवाफ दिन्छ । यो बेला सबै सकेसम्म विधि र प्रकृया पु¥याएरै भुक्तानी लिने दिने गरिने छ भन्ने आशय विकासे अड्डाका कर्मचारीहरु सुनाउँछन् ।
तर, डरमर्दो कुरा चाँही कहाँनिर छ भने विधि प्रकृया आन्तरिक हिसाब मिलानबाट हुन सक्ने ठूलो खतरा देखिन्छ । आन्तरिक हिसाब मिलान भागबण्डामा नहोस भन्ने सचेतनाको लागि सबै जनप्रतिनिधि, कर्मचारी, ठेकेदार, नेता÷कार्यकर्ता र उपभोक्ता समितिलाई शुभकामना !
लेखक ः प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।