खोटाङ, १६ असार । चार जनामा कोरोना भाइरसको सङ्क्रमण फेला परेपछि उद्योग बाणिज्य सङ्घ खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार बन्द गराएको छ । बाणिज्य सङ्घले दिक्तेल बजारमा सञ्चालित प्रत्येक पसल तथा होटलमा पत्र पठाएर बुधबारदेखि सम्पूर्ण कारोबार बन्द गराएको हो ।
कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक बाहेकका सम्पूर्ण व्यवसाय बन्द गर्न व्यापारीलाई आग्रह गरिएको बाणिज्य सङ्घका महासचिव मनोजकुमार बजिमयले बताउनुभयो । “अत्यावश्यक पर्ने पसल बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक तीन घण्टा खुला गरिनेछ”, उहाँले भन्नुभयो, “अत्यावश्यक बाहेक बाँकी सबै प्रकारका पसल तथा व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको हो ।”
जिल्लामा सञ्चालित औषधि पसल भने चौबीसै घण्टा खुला राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताउनुभयो । औषधि पसलमा समेत सामाजिक दूरी कायम गरेरमात्र सेवा लिन र दिने व्यवस्था गर्न अनुरोध गरिएको छ ।
यसैबीच, कोरोना सङ्क्रमित भेटिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केहि क्षेत्र सिल गरिएको छ । भारतबाट आएका १८ वर्षीय युवक र साउदी अरबबाट आएका ३८ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि अल्छेढुङ्गा हुँदै बेँसीटोल तथा नेर्पा जाने बाटोमा पर्ने डाँडागाउँदेखि सोल्माको साकेलाथानसम्मको दायाँबायाँ १०० मिटर क्षेत्र सिल गरिएको हो ।
अर्को व्यवस्था नभइन्जेलसम्मका लागि सिल गरिएको क्षेत्र प्रवेश गर्न तथा बाहिरिन पूर्णरुपमा रोक लगाइएको प्रजिअ पौडेलले बताउनुभयो । साउदीमा पिसिआर परीक्षण गरेर आएका ३८ वर्षीय सङ्क्रमित पुरुष पाँच दिन दिक्तेलमा निर्माण गरिएको क्वारेन्टिन बसेर घर गएपछि गाउँका साथीभाइसँग घुलमेल भएका कारण उनको सम्पर्कमा आएका व्यक्तिको पिसिआर रिपोर्ट नआएसम्मका लागि उक्त क्षेत्र सिल गर्नुपरेको हो ।
दश स्थानीय तह रहेको जिल्लामा हालसम्म नौँ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये चार जना उपचारपछि घर फर्किएका छन् भने, पाँच जनालाई उपचारमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभएको छ ।
जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएका सबैजना वैदेशिक रोजगारीमा विदेश गएर आएका व्यक्ति रहेका छन् । सङ्क्रमित हुनेमा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका चार÷चार जना तथा ऐसेलुखर्क गाउँपालिकाका एक जना स्थानीय बासिन्दा रहेका छन् ।