खोटाङ, १७ असार । जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्सरे (कम्प्युटराईज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको छ । वर्षौदेखि मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह गर्दै आएको अस्पतालले रु १६ लाख मुल्य पर्ने डिजिटल एक्सरे मेशिन जडान गरेर सञ्चालनमा ल्याएको हो ।
डिजिटल एक्सरे मेशिन सञ्चालनमा आएसँगै रिपोर्टका लागि सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने बाध्यता हटेको छ । यसअघि मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह गर्दा सेवाग्राहीले एक्सरे रिपोर्टका लागि घण्टौँ पर्खनुपर्ने बाध्यताको थियो ।
डिजिटल एक्सरे मेशिन सञ्चालन भएपछि जुनसुकै प्रकारको एक्सरे जुनसुकै समयमा पनि गर्न सकिने अस्पतालका रेडियोग्राफर कल्याण बस्नेतले बताउनुभयो । “डिजिटल एक्सरेले बढीमा पाँच मिनेटमा रिपोर्ट दिन्छ”, उहाँले भन्नुभयो, “डिजिटल एक्सरेको रिपोर्ट कम्प्युटरमा आवश्यकता अनुसार जुम गरेर हेर्न सकिने र मेनुअल एक्सरे रिपोर्टभन्दा धेरै गुणा राम्रो र छिटो हुनेछ ।”
डिजिटल एक्सरे मेशिनलाई चौबीसै घण्टा सञ्चालनमा ल्याउन विद्युतको विकल्पमा ब्याकअपसमेत जडान गरिएको जिल्ला अस्पतालका निमित्त प्रमुख रविनकुमार फुयलले बताउनुभयो । अस्पतालबाट प्रवाह हुने सबै सेवालाई छिटो र भरपर्दो बनाउने लक्ष्य प्रविधिलाई स्तरोन्नति गर्दै लगिने निमित्त प्रमुख फुयलको भनाइ छ ।
अस्पतालमा डिजिटल एक्सरे मेशिन सञ्चालनमा ल्याइएसँगै घण्टौँसम्म पर्खेर एक्सरेको रिपोर्ट लिँदै आएका सेवाग्राही पाँच मिनेटमा नै रिपोर्ट आउन थालेपछि उत्साहित देखिएका छन् । विद्युत भएको समयमा मात्र एक्सरे हुने अस्पतालमा डिजिटल एक्सरे मेशिन जडान गरिएसँगै ब्याकअपसमेत जडान गरिएपछि एक्सरे गर्न अन्यत्र अर्थात नीजि क्लिनिक धाउनुपर्ने बाध्यता पनि हटेको छ ।
अस्पतालमा विद्युत नभएको समयमा अन्यत्र गएर एक्सरे गर्दा नीजि क्लिनिक सञ्चालकले सेवाग्राहीबाट दोब्बर मुल्य लिने गरेका थिए । ढिलै भएपनि अस्पतालमा डिजिटल एक्सरे मेशिन र ब्याकअप जडान भएपछि एक्सरेका लागि अन्यत्र जानुपर्ने हटेको हो ।
जिल्लाको एकमात्र १५ शैयाको जिल्ला अस्पतलालाई ५० शैयाको बनाउने तयारीका साथ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम पनि भइरहेको छ । वि.सं. २०४८ सालमा स्थापना भएको जिल्ला अस्पतालमा शैया अभाव हुँदा कतिपय बिरामीलाई भुइँमा राखेर उपचार गराउन बाध्य छन् ।
दश स्थानीय तह रहेको जिल्लामा जटिल किसिमका बिरामीलाई थप उपचारका लागि राजधानी काठमाडौँ तथा तराईका जिल्ला लानुपर्ने बाध्यता रहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको उत्तरी क्षेत्रको ऐसेलुखर्क र दक्षिणी क्षेत्रको चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।