मार्बलले किचेर गम्भीर घाइते बनेका कामदारको हेलिकोप्टरबाट उद्दार

Halesi Khabar
0 Shares

खोटाङ, २२ असार । गाडीबाट झार्नेक्रममा मार्बलले किचेर गम्भीर घाइते बनेका दुई कामदारको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन गाडीमा ल्याइएको मार्बल झार्नेक्रममा सोही मार्बलले किचेर गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३० वर्षीय भुवन आचार्य र ओखलढुङ्गा जिल्लाको चिशङ्खुगढी गाउँपालिका–५ माम्खाका २४ वर्षीय कृष्ण कार्कीलाई सोमबार साँझ हेलिकोप्टरबाट उद्दार गरिएको हो ।

ना ५ ख ९५६९ एलपी ट्रकमा तराईबाट ल्याइएको मार्बल दिक्तेल बजारस्थित कुमारी चलचित्र भवन नजिकै झार्नेक्रममा सोमबार दिउँसो सोही मार्बलले किच्दा आचार्यको दाहिने हात र खुट्टा भाँचिनुका साथै शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको जनाइएको छ । सोही घटनाका अर्का घाइते कार्कीको दाहिने खुट्टाको घुँडामाथिको भाग भाँचिनुका साथै शरीरमा समेत चोट लागेको स्वास्थ्यकर्मीले बताएका छन् ।

घाइतेमध्ये आचार्यको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनुभयो । घटना लगत्तै स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्दार गरेर जिल्ला अस्पताल खोटाङमा भर्ना गरिएका दुवैजनाको उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टर झिकाएर काठमाडौँ पठाइएको प्रनाउ चिमोरियाले जानकारी दिनुभयो ।

घाइते दुवैजनालाई काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरेर उपचार शुरु गरिएको गम्भीर घाइते आचार्यका आफन्त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका कार्यालय सदस्य कुमार आचार्यले बताउनुभयो । घाइतेलाई काठमाडौँबाट रु एक लाख ८० हजारमा एयर डाइनास्टिक हेलिकोप्टर चार्टर पठाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया