खोटाङ, २४ असार । पास्नी (भात खुवाइ) कार्यक्रमको सामुहिक भोज खाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका दुई दर्जन बढी स्थानीय बासिन्दा बिरामी परेका छन् । लफ्याङस्थित तित्रीबोटेका सुजन राईकी छोरीको बुधबार दिउँसो आयोजना गरिएको पास्नीको सामुहिक भोज सहभागी ३० जना स्थानीय बासिन्दा भोज खाएको केहि समयपछि बिरामी भएका हुन् ।
बिरामी परेका व्यक्तिलाई ट्याक्टर रिजर्भ गरेर उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको वडाध्यक्ष निर्मल राईले बताउनुभयो । “भोज खाएको केहि समयपछि बान्ता हुने, पेट दुख्ने, रिङ्गटा लाग्ने र ढल्ने लक्षण देखिएको छ”, उहाँले भन्नुभयो, “गम्भीर किसिमका २५ जनालाई उपचारका लागि अस्पताल पठाइएको हो ।”
भोज खाएर घर फर्किएका व्यक्तिसमेत बिरामी रहेको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरुको पनि खोजी गर्ने काम भइरकेको वडाध्यक्ष राईले बताउनुभएको छ ।
स्थानीयबासीका अनुसार बिरामी हुनेमा अधिकांश बालबालिका रहेका छन् । उनीहरुले सामुहिक भोजमा पकाइएको मासुभातसँगै ट्याङजुस (पानीमा घोलेर) प्रयोग गरिने पेय पदार्थ सेवन गरेका थिए ।
भोजमा मादक पदार्थ (जाँडरक्सी) सेवन गर्ने व्यक्तिलाई केहि नभएको स्थानीयबासीले बताएका छन् । आदिवासी जनजाति समुदायमा हुने हरेक काजभोजमा अन्य परिकारसँगै जाँडरक्सी पर्सादको रुपमा खुवाउने चलन छ ।
सामुहिक भोज खाएका व्यक्ति एक्कासी बिरामी भएपछि नगरपालिकाको स्वास्थ्य शाखाबाट आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । भोजमा सहभागी स्थानीय बासिन्दा बिरामी हुनुको कारण पत्ता लाग्न बाँकी रहेको नगरप्रमुख रिजालको भनाइ छ ।