खोटाङ, १ साउन । नमूना विद्यालय बनाउन खोटाङको भगवती दिनानाथ मावि खोटाङबजार छानिएको छ । नमूना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार ३१ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको भगवती दिनानाथ मावि मुलुकभरका १०० वटा विद्यालय नमूना विकासको सूचीमा परेको हो ।
आर्थिक वर्ष २०७६÷०७७ मा शिक्षा, विज्ञान तथा प्रविधि विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाबाट बिगतमा नमूना विकास गर्न विद्यालय छनौट नभएका स्थानीय तह अन्तरगतका १०० वटा विद्यालयलाई नमूना विकासका लागि छनौट गर्न गत असोज १६ गते सूचना प्रकाशन गरेको थियो । प्रकाशित सूचनाका आधारमा आवेदन दिएकामा आफ्नो विद्यालयलाई नमूनाको रुपमा विकास गर्न छानिएको उक्त विद्यालयका प्रधानाध्यापक कुमार पराजुलीले बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि विकास केन्द विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले जारी गरेको सूचनाको १५ औँ नम्बरमा भगवती दिनानाथ माविको नाम उल्लेख छ । वि.सं. २००६ जेठ १५ गते स्थापना गरिएको उक्त विद्यालयमा हाल ७५० विद्यार्थी अध्यायनरत रहेका विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
कक्षा १२ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा यस वर्षदेखि प्राविधिकधारतर्फ बालीविज्ञान विषयको पठनपाठनसमेत स्वीकृति प्राप्त भएको भएको छ । पछिल्लो समय जिल्लामा प्राविधिक विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिकागरी दश स्थानीय तह रहेको जिल्लामा ४९३ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । प्राविधिक विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएपछि जिल्लामा सञ्चालित अन्य सामुदायिक विद्यालयले पनि प्राविधिक विषयको स्वीकृति माग गर्न थालेका छन् ।