खोटाङ, २ साउन । योजना फछ्र्यौटकाक्रममा कमजोरी हुँदा विद्यालयका प्रधानाध्यापकले पद गुमाएपछि निमित्त प्रधानाध्यापकले योजना फछ्र्यौट गरेका छन् । एक नम्बर प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट फछ्र्यौटकाक्रममा भएको कमजोरीका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राविका प्रअ रत्नकुमार बस्नेत पदबाट हटाइएपछि निमित्त प्रअ बनेका निर्मला थापाले सो योजनाको बजेट फछ्र्यौट गरेका हुन् ।
विद्यालयको टेवा पर्खाल निर्माणका लागि आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खोटाङ (ख) कातर्फबाट विनियोजित रु दश लाख रकम फछ्र्यौटकाक्रममा कागजात पेश गर्दा बस्नेतले असम्बन्धित योजनाको तस्वीर समावेश गरेको खुलेपछि उनलाई गाउँ शिक्षा समितिको सिफारिसमा गाउँपालिकाले असार २८ गते पदबाट हटाएको थियो । हेलचक्र्याइँ गर्दा बस्नेत प्रअबाट हटाइएपछि व्यवस्थापन समितिले निमित्त प्रअ बनाएका थापाले मङ्गलबार सो योजनाको फरफारक गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।
विद्यालयको टेवा पर्खाल निर्माण सम्बन्धी योजना फछ्र्यौटकाक्रममा प्रअ बस्नेत ओख्रेको आरुबोटे–लहरेपैयूँ–बार्लाङ–रिभु–एक्लेबर–डाँडाखर्क काहुले–मलबासे हुँदै सिमलडाँडा–जमुनेढुङ्गा–धिप्लुङ झरना जोड्ने सडकको तार जाली हालेको तस्वीर लिएर गाउँपालिका पुगेको खुलेको थियो । असार २२ गते पेश गरिएको कागजातमा विद्यालयको टेवा पर्खालको सट्टा सडकको जाली हालिएको पर्खालको तस्वीर समावेश गरेको पाइएपछि गाउँ शिक्षा समितिको असार २७ गतेको बैठकले गरेको सिफारिसका आधारमा गाउँकार्यपालिकाले प्रअ बस्नेतलाई भोलीपल्टै पदबाट हटाउने निर्णय गरेको थियो ।
योजना फछ्र्यौटका लागि नक्कली तस्वीर पेश गरेको खुलेको आधारमा असार २५ गते बस्नेतलाई लिखित स्पष्टीकरण सोधिएकामा आफूबाट कमजोरी भएको स्वीकार गरेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकामा पेश गरिएको फछ्र्यौट कागजातमा सडकको आरुबोटे भन्ने ठाउँको तस्वीर राखिएको पाइएको छ ।
प्रअ बस्नेत प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटले विद्यालयको पर्खाल हाल्ने र माटो फिलिङ गर्ने काम पुरा नहुँदै फछ्र्यौटका लागि गाउँपालिका पुगेका थिए । योजना फस्र्यौटका लागि असार २२ गते गाउँपालिका पुगे पनि अर्कै ठाउँको तस्वीर पेश गरेको र काम पुरा नभएको भन्दै गाउँपालिकाले ‘एक्सन’ लिएपछि केही दिन लगाएर माटो फिलिङका काम पुरा गरिएको थियो ।