खोटाङ, ५ साउन । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न खोटाङका युवाले एक हजार जनाभन्दा बढी स्थानीय बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । महामारीको रुपमा कोरोना भाइरस फैलिएसँगै एक जना स्वास्थ्यकर्मीसहित चार युवाको टोलीले ‘युवा जागरण, कोरोना नियन्त्रण अभियान’ सञ्चालन गरेर एक हजार १२९ जना स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरेको हो ।
निःशुल्क स्वास्थ्य जाँचकाक्रममा स्थानीय बासिन्दालाई रु पाँच लाख ५० हजार बराबरको औषधि वितरण गरिएको अभियानका व्यवस्थापक राजु आचार्यले जानकारी दिनुभयो । युवाका टोलीले व्यक्ति तथा संस्थाबाट सहयोग रकम, औषधि तथा स्वास्थ्य सामग्री उठाएर कोरोना विरुद्धको सचेतनामूलक अभियान चलाएको हो ।
जिल्ला तथा जिल्ला बाहिरका ५२ जना व्यक्ति र पाँच संस्थाबाट प्राप्त भएको रु नौँ लाख ८१ हजार रकमबाट दश हजार थान मास्क, ३० थान केएन नाइन्टीफाईभ मास्क, सय एमएलको २८७ वटा ह्याण्ड सेनीटाइजर, ५०० एमएलको ५३ वटा ह्याण्ड सेनीटाइजर वितरण गरिएको व्यवस्थापक आचार्यले बताउनुभयो । यस्तै, दुई थान थर्मल गन, एक हजार १९३ वटा साबुन, १०० थान सर्जिकल पञ्जा, एक हजार २२३ थान टप्स ग्लोब्स, १२ थान हेयर क्याप र २७ काटन प्रशोधिन पानी वितरण गरिएको जनाइएको छ ।
कोरोनाको रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउने लक्ष्यका साथ युवा जागरण कोरोना नियन्त्रण अभियानले गत जेठ ११ गतेदेखि नगरपालिकामा सचेतनामूलक गतिविधि सञ्चालन सुरु गरेको जनाएको छ । युवा जागरण कोरोना नियन्त्रण अभियानले सोमबार दिक्तेलको होटल भिलेजमा पत्रकार सम्मेलन गरेर लकडाउनको मारमा परेका स्थानीय बासिन्दालाई एक हजार ४०० केजी चामल, ५०० केजी दाल र २४ काटन चाउचाउ प्रदान गरेको जानकारी दिएको छ ।
अभियानकाक्रममा कुल रु ११ लाख ९४ हजाहर ९४७ खर्च भएकामा अझै रु तीन लाख ४० हजार रकम अपुग भएको अभियानका संयोजक कविराज रिजालले बताउनुभयो । उनीहरुले सामान्य स्वास्थ्य परीक्षणका साथै विदेशबाट आएका स्थानीय बासिन्दालाई क्वारेन्टिनमा पु¥याउनसमेत सहयोग गरेको थियो ।
युवाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दोर्पाचिउरीडाँडा, जालपा, निर्मलीडाँडा, पाथेका, बुइपा, बुवालुङ, बाम्राङ, हुर्लुङ, मुढे, खार्मी, नुनथला, खाल्ले र महुरेमा अभियान सञ्चालन गरेको थियो । युवाले सञ्चालन गरेको अभियानका क्रममा बन्दाबन्दीका कारण नियमित औषधि सेवन गर्दै आएका दीर्घरोगीलाई आवश्यक औषधि खरिद गरेर निःशुल्क वितरणसमेत गरेको जनाइएको छ ।
आगामी दिनमा पनि अन्य सचेतनामूलक गतिविधि सञ्चालन गर्ने संयोजक रिजालले बताउनुभयो । अभियानमा आवद्ध रिजाल, आचार्य, डा. जनार्दन खकुरेल, पेम्बा तामाङ र सुरेश दाहालले गत जेठ १२ गतेदेखि शुरु गरेको अभियान यहि साउन ४ गतेबाट औपचारिक रुपमा टुङ्ग्याइएको जानकारी दिइएको छ ।