सात स्थानीय तहका बालबालिकालाई ‘रोटा खोप’ दिन शुरु

Halesi Khabar
0 Shares

खोटाङ, १० साउन । खोटाङ जिल्लाका बालबालिकालाई पहिलो पटक ‘रोटा खोप’ दिन शुरु गरिएको छ । झाडापखालाबाट बचाउन शनिबारदेखि जिल्लाका सात स्थानीय तहका कलिला बालबच्चालाई रोटा खोप दिन शुरु गरिएको हो ।

बच्चा जन्मेको ६ हप्ता पुगेपछि र १० हप्ता पुगेपछि दिनुपर्ने रोटा खोप सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्था वा तोकिएको केन्द्रबाट बालबच्चालाई दिन शुरु गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभएको छ । “दुई वर्षमुनिका बालबच्चाको मृत्युको कारण झाडापखाला पनि कारणकारुपमा देखिएकाले यसपल्टदेखि झाडापखाला विरुद्धको रोटा खोप थप भएको छ”, उहाँले भन्नुभयो, “जिल्लाका दश स्थानीय तह रहेको जिल्लामा पहिलो चरण अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, केपीलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका बालबालिकालाई रोटा खोप दिन शुरु गरिएको हो ।”

सात गाउँपालिकाका बालबालिकालाई साउन १२ गतेसम्म रोटा खोप दिइने जनाइएको छ ।
यस्तै, बाँकी रहेका खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका बालबच्चालाई साउन २० गतेदेखि २२ गतेसम्म रोटा खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म पाँच वर्षमुनिका बालबच्चाले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुषटङ्कार, पोलियो, दादुरा, रुबेला, निमोनिया, हेपाटाइटिस ‘बि’, हेमोफिलस इन्फ्ल्युएन्जा बी र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप पाउने गरेकामा रोटा खोप पनि थप भएको जनाइएको छ । आगामी दिनमा बालबच्चालाई अन्य ११ खोपसँगै रोटा खोप दिइने प्रमुख सिग्देलले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा करीब एक हजार ८०० बालबालिकाले रोटा खोप पाउने छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शुरु गरिएको खोप कार्यक्रम नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया