सम्माननीय अध्यक्षद्धय,
लाल सलाम गरिनँ !
कमरेड हराएको देशमा म जस्तो कमरेडले मुठी उठाउन जुरुरी नठानेकाले मैले उठाइन । किन भने अहिले नेपाली कम्युनिष्ट आन्दोलनमा वर्ग सङ्घर्षको कुरा भन्दा पर अरुनै कुराहरुमा अल्झिएको देख्छु । ग्रामिण भेगको दूर भागमा छु, नियाली रहेको छु हिजोका ति रक्त रञ्जित झण्डा ।
क्रान्तिको कुरा, साम्यवाद परिकल्पना हो यथार्त समाजवाद हो । म गाउँमा हुर्किएर नेपाली कम्युनिष्ट आन्दोलनलाई माया गर्नेगरी लागेको.फुच्चेले बोलेको कुरा अध्यक्षद्धयलाई असर पुग्ला की भन्ने पनि अलिअलि डर लागेको छ । गाउँमा बसेर तिमी कुन कित्तामा छौ भन्ने प्रश्न पो आउला की ? यहि विषयले फेरि विवाद नबढोस् भनेर समान आँखाले हेरिरहेको अवगत गराउँछु ।
यी मेरा आँखाले म जस्तै करोडौँ नेपालीहरुको समाज परिवर्तनको खातिर पार्टीको नीति र सिद्धान्तमा अडिएको मनहरु छन् । माक्र्सवाद लेनिनवादको दार्शनिक धरातलमा टेकेर राजनीतिक मार्ग प्रशस्त गर्ने अभियानमा जुटेको सपना देखि रहेको छु । अहिले नेपालको जनसंख्याको कति हिस्सा हो त्यो मलाई थाहा छैन तर, मेरो आस्थाको पार्टीले झण्डै दुईतिहाईको मतले जितेको थाहा पाउँछु ।
यो जित्दै गर्दा पार्टीको सिपाँहीको नाताले पार्टीको नीति, विचार र कार्यक्रमहरुको बारेमा जनताको बीचमा मैले बोलेको र पार्टीले भनेको कुरा सन्देशका रुपमा कता कता पु¥याएको हुँला सम्झिन थालेको छु । खोजि रहेको छु । त्यस बेला भनिएका समृद्ध समाज निर्माण गर्ने अभियानमा हामी जुट्यौँ । हामी एक ठाउँमा आयौँ ।
जनताको विश्वास जित्नका लागि मात्र होइन साँच्चै समाज परिवर्तन गर्नका लागि हामीले उठाएको कदम सहि छ । विकास निर्माणको कुरा, आमुल परिवर्तनका कुरा अब हामीले भाषणमा होइन व्यवहारमा देखाउँछौँ । हामीले जुटेर नै यो संसार बदलिन्छ । यी यस्तै कुराहरु जनताको घरदैलोसम्म तपाईहरुको निर्देशनमा नै गरेको छु । बोलेको छु ।
मैले यो बोल्न कुनै संयोगले, आबेग र उत्तेजनाले भनेको थिइनँ । मैले केवल मेरो आस्थाको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीति विचारको आधारमा हिसाब किताब गरेरै बोलेको छु । अध्यक्षद्धय आज नेपाली कम्युनिष्ट आन्दोलनभित्र दुई लाईनको सङ्घर्ष चर्किएको पाएको छु । त्यो पनि नितान्त वैचारिक नभई व्यक्तिगत कारणले हो भन्ने ठोकुवा गर्न म जतिको कार्यकर्तालाई कुनै सङ्कोच छैन ।
अहिलेको दुईलाईनको सङ्घर्षमा दुईवटा टारबीचको जस्तोमात्र लाग्दछ मलाई । एउटा बालुवाटार छदैँछ । अर्को खुमलटार पनि रहेकै छ । हामीले हिजो यो दुईवटा टारलाई मिलाएर एउटा शिखर निर्माण गरेका हौँ । हामीले निर्माण गरेको सर्वोच्च त्यो शिखर बनेपछि नै त्पाईहरु ती टारहरुमा बस्नु भएको हो ।
टारहरुको मिलन बिन्दु त्यही नेकपा नामको शिखरमा हाम्रै बलबुत्ताले टावरपनि निर्माण गरिएकै हो । तर, आज टावर ढाल्नेगरी हाव चलेको छ । कहिले दक्षिणतिरबाट आएको हावाले टावर हल्लाउँछ त कहिले पश्चिको हावाले भत्काउन खोज्छ । उत्तरको हावा पनि हिमाल छिचोलेर आइसक्यो । के अध्यक्षद्धय टारमा हावा लाग्दैन र ? टावर ढाल्ने हावा आउँदा टारहरुमा भुमरी पर्दैन भन्ने के ग्यारेण्टी रहन्छ र ?
दुईवटा टारलाई जोडेर बनाएको शिखरमा पहिरो जाँदा बीचमा टारहरु सुरक्षित रहन्छ भन्ने ग्यारेण्टी छैन । यसमा खोला पनि त बन्न सक्छ । ती खोलाहरु खडेरीमा कमिला तर्ला तर वर्षादको समय पानी बन्दैन भन्ने सोच्नु सहि हुन्छ र ? यदि टारहरुको बीचमा खोला नै बन्ने हो भने दुईवटा किनाराको फेरि भेट हुन्छ भन्ने विश्वास गर्न गारो पर्छ मलाई ।
किनकि म माक्र्सवादलाई मान्छु । द्धन्द्धवादी दृष्टिकोणको विद्यार्थी हुँ । मलाई थाहा छ द्धन्द्धले नया कुराको सिर्जना गर्दछ । तर, द्धन्द्धको नाममा निषेध गर्ने कामहरु हुन्छन् भने त्यो द्धन्द्धवाद हुँदैन । अस्तित्व नै नामेट हुनेगरी जुन निर्लज्ज बहस छ यो मलाई स्वीकार्य भएनँ अध्यक्षद्धय ।
मलाई लाग्छ हिजो जनताको बीचमा गएर गरिएका प्रतिवद्धताहरु यति छिटै भुल्न सकिने खालका छैनन् । सँगै गरिएका बाचाहरु, खाइएका सफथहरु त्यति धेरै सस्तो कसरी हुन सक्छ ? होला त्याग तपश्यामा हामी कमशल छौँ । तर, दिल सफा राखेर यर्थाथताको धरातलमाथि उभिएर एकचोटी टारबाट माथि शिखरमा हेर्नुस् त ! को कसले कति कति ? त्याग गरेका रहेछौँ ।
जनताको अभिमत पाउन हामीले के के कुरामा सहमति गरेका रहेछौँ ? सुन्दर संसार रचना गर्ने नाममा हामीले अन्तर्राष्ट्रिय गीतहरु गुञ्जायमान बनाउँदा बोलेको प्रत्येक वाक्य के के थिए ? सोच्नुस त अध्यक्षद्धय । ‘उठ जाग ए भोका नाङ्गा संसारका दुःखी’ के हामीले भोका नाङ्गाको बारेमा अहिलेको बहस ठीक दिशातिर लम्किरहेको छ त ? यसको जवाफ म र म जस्तै शुभचिन्तकहरुले कहिले पाउने होला ? चाँडै जवाफ पाउँ अध्यक्षद्धय !
–भीम राई ः केन्द्रीय सदस्य (प्रेस सङ्गठन नेपाल)