खोटाङ, १९ साउन । दिक्तेल बजारमा सञ्चालित एक वित्तीय संस्थाका प्रबन्धकले बचत रकम फिर्ता माग्न गएका महिला समूहलाई उल्टै धम्क्याएर फर्काएको पाइएको छ । दिक्तेलस्थित पुरानो बेसक्याम्पमा सञ्चालित एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शाखा प्रबन्धक भूपाल खड्काले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित लालुपाते महिला समूहमा आवद्ध सेवाग्राहीलाई उनीहरुले गरेको बचत रकम फिर्ता माग्न गएको समयमा प्रहरीलाई पक्राउने धम्की दिएर फर्काएको पाइएको हो ।
वि.सं. २०७३ माघ १५ गतेदेखि गत फागुन १६ गतेसम्म नियमित बचत गर्दै आइएपनि पछिल्लो समय कोरोना भाइरसका कारण लामो समयको लकडाउनका कारण आगामी दिनमा बचत गर्न नसक्ने अवस्था आएपछि आफूहरुले गरेको बचत रकम फिर्ता माग्न गएको समयमा शाखा प्रबन्धकले आफूहरुमाथि अभद्र व्यवहार गरेको समूहका अध्यक्ष सुशिला विश्वकर्माले बताउनुभयो । “हामीले आफूले जम्मा गरेको रकम फिर्ता मागेका हौँ”, उहाँले भन्नुभयो, “हाकिम सा’बले अहिले कुनै पनि हालतमा पाउँदैनौँ भन्नुभयो । आफ्नो पैसा किन पाउँदैनौँ भन्दा प्रहरी लगाएर पक्राउने धम्की दिनुभयो ।”
संस्थाका प्रबन्धक खड्काले आफूहरुमाथि गरेको अभद्र व्यवहारको विषयमा नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई समेत जानकारी गराइएको समूहले जनाएको छ । मौखिक जानकारी गराएका उनीहरुलाई नगरप्रमुख र प्रहरी प्रशासनले छलफल गराएर समस्याको समाधान गर्ने आश्वसन दिएको बुझिएको छ ।
महिला समूहले शुरुमा मासिक रु २०० तथा पछिल्लो समयमा मासिक रु ३०० का दरले उक्त संस्थामा बचत गर्दै आएको बुझिएको छ । नौँ जनाको समूह रहेको उक्त महिला समूहका सदस्यको प्रति व्यक्ति रु दश हजारदेखि रु ३५ हजारसम्म सो संस्थामा बचत रहेको समूहका अध्यक्ष विश्वकर्माले जानकारी दिएकी छन् ।
लकडाउनका कारण नियमित बचत गर्न नसकेपछि साउन १६ गते नियमित बैठक बसेर आफ्नो बचत रकम फिर्ता माग्ने निर्णय गरिएको समूहका सदस्य सर्मिला विश्वकर्माले बताउनुभयो । “संस्थाले आफूहरुले जम्मा गरेको रकमको आठ प्रतिशत मात्र ब्याज दिन्छ”, उहाँले भन्नुभयो, “संस्थाबाट ऋण लिँदा १८ प्रतिशत ब्याज तिर्नुपर्ने हुँदा आफूहरु ठगीमा पर्ने गरिएकाले पनि समूह नै खारेजीको माग गरिएको हो ।”
शाखा प्रबन्धक खड्काले भने, उक्त महिला समूहसँग बचत फिर्ताका विषयमा नभइ ऋण मागेको विषयमा सामान्य बिबाद भएको बताउनुभयो । “बचत फिर्ता गर्न प्रक्रिया पूरा गरेर आउनुपर्छ”, उहाँले भन्नुभयो, “उनीहरुले प्रक्रिया पूरा नगरी आएकाले सामान्य भनाभन भएको हो । उनीहरुले पछिल्लो समय समूह नै खारेजीको माग गरेका छन् । उनीहरु कै माग अनुसार हामीले प्रक्रियासमेत थाली सकेका छौँ ।”
एनएमबी माइक्रोफाइनान्स र लालुपाते महिला समूहबीचमा देखिएको बिबादका बारेमा दुबै पक्षलाई बोलाएर छलफल गराउन डिएसपीलाई भनिसकेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । “उनीहरुबीचमा के कस्तो सम्झौता छ, डकुमेन्टेसन कस्तो छ ?, त्यो अध्ययन गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “हामीले राखेको पैसा हामीलाई राख्न मन लागेन, झिक्न प¥यो भनेपछि झिक्न पाउनु पर्ने हो । यस विषयमा दुबै पक्षलाई बोलाएर छलफल गराउन डिएसपी सा’बलाई भनेको छु ।”
जिल्लामा सञ्चालित वित्तीय संस्थाहरुले बङ्गुर, बाख्रा तथा कुखुरा पालन एवम् व्यापार व्यवसाय सञ्चालन र तरकारी खेतीमा लगानी गर्दै आएको छन् । बिना धितो ऋण लगानी गर्दै आएका वित्तीत संस्थाले जिल्लामा ऋण लिएका व्यक्ति तथा समूहले के गर्दै छ भन्ने अनुगनसमेत गरेको पाइँदैन ।
लघुवित्तको विषयमा महिला समूहको तर्फबाट आफूकहाँसमेत गुनासो आएकाले पर्सि छलफल गर्ने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “जिल्लामा सञ्चालित वित्तीय संस्थाका बारेमा धेरै गुनासाहरु आएका छन्”, उहाँले भन्नुभयो, “दीर्घकालीन समस्या समाधान गर्नेगरी नगरपालिकाको तर्फबाट नियमन गरिनेछ ।”
आम्दानीको स्रोत नहुने तर, वित्तीय संस्थाबाट ऋण दिने अधिकांश जिल्लाबासीको उठिबास हुने सम्भावना रहेको पत्रकार उजुर राईले बताउनुभयो । “एउटा व्यक्तिले पाँचवटासम्म संस्थाबाट ऋण लिएका छन्”, उहाँले भन्नुभयो, “एउटा संस्थामा ऋण लिएका व्यक्तिले उक्त संस्थामा किस्ता बुझाउन अर्कै संस्थाबाट ऋण लिने गरेको पाइएको छ ।”
दश स्थानीय तह रहेको जिल्लामा ११ वटा वित्तीय संस्था सञ्चालनमा छन् । गाउँगाउँ पुगेर समूह गठन गर्दै लगानी गर्ने वित्तीय संस्थाले स्थानीय बासिन्दाबाट चर्को ब्याज अशुल्ने गरेको गुनासो आएको छ ।