खोटाङ, २३ साउन । दिक्तेल बजारमा सञ्चालित एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रबन्धक भूपाल खड्काले सेवाग्राहीसँग माफी माग्दै उनीहरुले संस्थामा बचत गरेको रकम फिर्ता दिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित लालुपाते महिला समूहका सदस्यहरुसँग जिल्ला प्रहरी कार्यालयमा बिहीबार भएको छलफलमा प्रबन्धक खड्काले आगामी दिनमा गल्ती नदोहो¥याउने शर्तसहित माफी मागेर उनीहरुको बचत रकम फिर्ता दिएका हुन् ।
महिला समूहमा आवद्ध नौँ जना महिलाहरु आफूहरुले संस्थामा बचत गरेको रकम फिर्ता माग्न साउन १८ गते संस्थाको कार्यालयमा जाँदा प्रबन्धक खड्काले प्रहरी लगाएर पक्राउने धम्की दिएर फर्काएपछि महिलाहरुले खड्का विरुद्ध प्रहरीमा दिएको थियो । संस्थाका प्रबन्धक खड्काबिरुद्ध परेको उजुरीको आधारमा दुवै पक्षबीच छलफल गराएर माफी मगाउँदै महिला समूहको बचत रकम फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिनुभयो ।
संस्थाले महिला समूहले जम्मा गरेको रु एक लाख १२ हजार ९०० मध्ये बिहीबार एक लाख तीन हजार ९०० फिर्ता दिएको समूहका सदस्य सर्मिला विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार समूहमा आवद्ध अनिता विश्वकर्मा भने, बिहिबार उपस्थित नभएकाले उनको बचत रकम रु दश हजार फिर्ता लिन बाँकी रहेको जनाइएको छ ।
लामो समयको लकडाउनका कारण आगामी दिनमा बचत गर्न नसक्ने अवस्था आएपछि आफूहरुले गरेको बचत रकम फिर्ता माग्न गएको समयमा शाखा प्रबन्धक खड्काले आफूहरुमाथि अभद्र व्यवहार गरेको समूहका अध्यक्ष सुशिला विश्वकर्माले बताउनुभयो । “हामीले आफूहरुले जम्मा गरेको रकम फिर्ता मागेका हौँ”, उहाँले भन्नुभयो “हाकिम सा’बले अपशब्द प्रयोग गर्दै अहिले कुनै पनि हालतमा फिर्ता पाउँदैनौँ भन्नुभयो । हामीले आफ्नो पैसा किन फिर्ता पाउँदैनौँ भन्दा प्रहरी लगाएर पक्राउने धम्की दिनुभएको थियो । त्यसपछि प्रहरीमा उजुरी दिएका हौँ ।”
महिला समूहले उक्त संस्थामा वि.सं. २०७३ माघ १५ गतेदेखि गत फागुन १६ गतेसम्म नियमित बचत गर्दै आएको जनाइएको छ । संस्थाका प्रबन्धक खड्काले उनीहरुमाथि अभद्र व्यवहार गरेपछि कारबाहीको माग गर्दै नगरप्रमुख र प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको थियो ।
लघुवित्तको विषयमा धेरैवटा महिला समूहको तर्फबाट आफूकहाँसमेत गुनासो आएकाले जिल्लामा सञ्चालित सबै संस्थासँग छलफल गर्ने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “जिल्लामा सञ्चालित वित्तीय संस्थाका बारेमा धेरै गुनासाहरु आएका छन्”, उहाँले भन्नुभयोे, “दीर्घकालीन समस्या समाधान गर्नेगरी नगरपालिकाको तर्फबाट नियमन गरिनेछ ।”
जिल्लामा सञ्चालित वित्तीय संस्थाहरुले बङ्गुर, बाख्रा तथा कुखुरा पालन एवम् व्यापार व्यवसाय सञ्चालन र तरकारी खेतीमा लगानी गर्दै आएको छन् । बिना धितो ऋण लगानी गर्दै आएका वित्तीत संस्थाले जिल्लामा ऋण लिएका व्यक्ति तथा समूहले के गर्दै छ भन्ने अनुगनसमेत गरेको पाइँदैन ।
आम्दानीको स्रोत नहुने तर, वित्तीय संस्थाबाट ऋण दिने अधिकांश जिल्लाबासीको उठिबास हुने सम्भावना रहेको पत्रकार उजुर राईले बताउनुभएको छ । “एउटा व्यक्तिले पाँचवटासम्म संस्थाबाट ऋण लिएका छन्”, उहाँले भन्नुभयो, “एउटा संस्थामा ऋण लिएका व्यक्तिले उक्त संस्थामा किस्ता बुझाउन अर्कै संस्थाबाट ऋण लिने गरेको पाइएको छ ।”
दश स्थानीय तह रहेको जिल्लामा ११ वटा वित्तीय संस्था सञ्चालनमा छन् । गाउँगाउँ पुगेर समूह गठन गर्दै लगानी गर्ने वित्तीय संस्थाले स्थानीय बासिन्दाबाट चर्को ब्याज अशुल्ने गरेको गुनासो आएको छ ।