स्वास्थ्य कार्यालयले उपलब्ध गरायो ज्येष्ठ नागरिकलाई ज्याकेट

Halesi Khabar
0 Shares

खोटाङ, २५ साउन । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जेष्ठ नागरिक सङ्घमा आवद्ध वृद्धवृद्धाका लागि २०० थान ज्याकेट उपलब्ध गराएको छ । एक नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाबाट प्राप्त रु तीन लाख बजेटबाट खरिद गरिएको ज्याकेट ज्येष्ठ नागरिक सङ्घलाई उपलब्ध गराएको हो ।

निर्देशनालयले स्वास्थ्य सामग्री वितरणका लागि बजेट उपलब्ध गराएको भएपनि ज्येष्ठ नागरिक सङ्घसँगको समन्वयमा ज्याकेट खरिद गरेर वितरण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो । “निर्देशनालयबाट स्वास्थ्य सामग्री खरिद गरेर ज्येष्ठ नागरिकलाई हस्तान्तरण गर्न आदेश आएको थियो”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक सङ्घसँग समन्वय गर्दा जाडोको समयमा ज्याकेट उपयुक्त हुन्छ भन्ने राय आएपछि २०० थान ज्याकेट खरिद गरेर उपलब्ध गराइएको हो ।”

निर्देशनालयले उपलब्ध गराएको बजेटबाट खरिद गरिएको ज्याकेट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले सङ्घका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलाई हस्तान्तरण गर्नुभएको थियो । ज्याकेट हस्तान्तरण कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई एक÷एक थान मास्क र ग्लोब्स पनि वितरण गरिएको थियो ।

स्वास्थ्य कार्यालयले जाडोको समयमा लगाउन मिल्ने ज्याकेट उपलब्ध गराएपछि जेष्ठ नागरिकहरु हर्षित भएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलले देश कोरोना भाइरसको सङ्क्रमणबाट ग्रसित रहेकाले त्यसबाट बच्न ज्येष्ठ नागरिकलाई घर बाहिर ननिस्कन र अनिवार्य मास्क प्रयोग गर्न सुझाव दिनुभएको छ ।

तपाईको प्रतिक्रिया