सहाराबिहिन डम्बरकुमारीलाई वडाकार्यालयको हेरचाह

Halesi Khabar
0 Shares

खोटाङ, २८ साउन । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयकी ६९ वर्षीया डम्बरकुमारी राईलाई वडा कार्यालयले सहारा दिएको छ । विवाह गरेपनि सन्तान नभएको र श्रीमानको समेत मृत्यु भइसकेपछि बेसहारा जीवन बिताइरहनुभएकी राईको छाक टार्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको हो ।

हातगोडा चल्न छाडेको र खेतीपातीको काम गर्न नसक्ने अवस्थामा पुग्नुभएकी वृद्धाको खाने, बस्ने र औषधि उपचार गर्ने जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष विदुरमान राईले बताउनुभयो । “कानसमेत सुन्न छाड्नुभएकी डम्बरकुमारी अहिले सानो झुपडीमा एक्लै बस्दै आउनुभएको छ”, उहाँले भन्नुभयो, “बुढौलीपनले छोएर हिँडडुलसमेत गर्न छाड्नुभएकी उहाँको हेर चाह गर्नुका साथै उहाँलाई आवश्यक खाद्यान्न, दाल, नुन, तेल लगायत घरैमा पु¥याई दिने व्यवस्था मिलाइएको हो ।”

वि.सं. २००८ सालमा जन्मनुभएकी डम्बरकुमारीका श्रीमानको पाँच वर्षअघि मृत्यु भएको छिमेकीले बताएका छन् । श्रीमानको समेत मृत्यु भइसकेपछि सहाराबिहिन बन्नुभएकी डम्बरकुमारीलाई बुढौलीपनले छुनुका साथै आफै काम गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था नभएपछि वडा कार्यालयले सहारा दिएको हो ।

कान नसुन्नुका साथै हिँडडुल गर्न पनि नसक्ने अवस्थामा पुग्नुभएकी डम्बरकुमारीको करीब दुई रोपनी मात्र जग्गा छ । गत वर्षसम्म जेनतेन कुटो कोदालो गरेर खेतीपाती गर्दै आउनुभएकी डम्बरकुमारी यस वर्षदेखि घरभित्रबाहिर गर्नसमेत नसक्ने अवस्थामा पुग्नुभएकाले उहाँ बाचुञ्जेलसम्म खाने, बस्नेका साथै औषधि उपचारको व्यवस्थाको जिम्मा लिइएको वडाध्यक्ष राईले बताउनुभएको छ ।

फुसको छानो भएको झुप्रेघरमा बस्दै आउनुभएकी डम्बरकुमारीको घरलाई वडा कार्यालयले जस्ताको छाना हालिदिने तयारी गरेको छ । विद्युतको पहुँचभन्दा टाढा रहनुभएकी डम्बरकुमारीलाई उज्यालोमा राख्न सोलारसमेत निःशुल्क वितरण गरिसकिएको वडाध्यक्ष राईले बताउनुभयो

यसअघि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ऐसेलुखर्ककी ८० वर्षीया एकल महिला हीरामायाँ राईलाई स्थानीय खामाखा खार्चुम समाजमा आवद्ध छिमेकी युवाले घर बनाइ दिएका थिए । लट्ठीको सहारामा मात्र हिँडडुल गर्न सक्ने भूकम्प पीडित हीरामायाँले नयाँ घर निर्माण गर्न राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट अनुदान पाएपनि जनशक्ति अभावमा घर बनाउन नसकेर बिचल्लीमा परेपछि समाजमा आवद्ध छिमेकी युवाले श्रमदान जुटाएर घर निर्माण गरिदिएका हुन् ।

भूकम्पले क्षति भएको घर पुनः निर्माण गर्न प्राधिकरणबाट अनुदान लिएपनि जनशक्ति अभावमा घर निर्माणको काम गर्न नसकेपछि हीरामायाँलाई सहयोग गरिएको समाजका सचिव नवीन राईले बताउनुभयो । “हिरामायाँ उमेरले आफै डाँडामाथिको घाम जस्तै अवस्थामा पुग्नुभएक छ”, उहाँले भन्नुभयो, “बालबच्चासमेत नजन्माउनुभएकी सहाराबिहिन हीरामायाँले जस्तापाता खरिद गर्ने र आवश्यक काठपात तयार पार्नुभएपछि ओत लाग्ने ठाउँको व्यवस्था मिलाउन घर निर्माण गरिदिएका हौँ ।”

यसैबीच, पहिरोका कारण घर भत्किएपछि बिचल्लीमा परेका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका मानबहादुर खत्रीको घर निर्माणका अभियान थालिएको छ । बालबच्चा नभएको र वृद्धावस्थामा पुगेका खत्री दम्पत्तीको घर पुनः निर्माा गर्नका लागि सहयोग सङ्कलन अभियान थालिएको हो ।

गत असार ३२ गतेको वर्षाका कारण घर भत्किएपछि घर बिहिन बनेका वृद्धवृद्धाको घर निर्माण गर्न स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट रकम सङ्कलन शुरु भएको छ । अभियान अन्तरगत हालसम्म रु एक लाख ५० हजार रकम सङ्कलन भइसकेको अभियान्ता थिरेन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।

पहिरोले ढलेको घर ठड्याउन सक्ने अवस्था नभएका कारण खड्का दम्पत्तीको घर बनाउन सहयोग अभियान थालिएको अभियान्ता भट्टराईले बताउनुभयो । हाल यूकेमा रहनुभएकी ईशा गुरुङले तिज मनाउने खर्च कटाएर वृद्धवृद्धाको घर बनाउन रु २० हजार सहयोग पठाउनुभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया