खोटाङ, ३१ साउन । विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ जना प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यहि साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ जना प्रहरी जवानमध्ये छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सरुवा भएर खोटाङ आएका सबैजना प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । “सरुवा भएर खोटाङ आएलगत्तै उनीहरु सबैजनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ”, उहाँले भन्नुभयो, “साउन २९ गते पिसिआर परीक्षण गर्न उनीहरुसँगै १३ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।”
सङ्क्रमित हुनेमा प्रहरी जवानमा २३ र २५ वर्षीय दुई÷दुई तथा २० र २१ वर्षीय एक÷एक जना पुरुष रहेका जनाइएको छ । सङ्क्रमित सबै जनालाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण पुष्टि भएका सबै जना क्वारेन्टिनमै रहेकाले उच्च सतर्कता अपनाउँदै दैनिक कामकाजलाई समेत निरन्तरता दिइने जनाएको छ । जिल्ला बाहिरबाट सरुवा भएर आएकालाई पिसिआर परीक्षण गरेर मात्र ड्युटीमा खटाउने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो ।
दश स्थानीय तह रहेको जिल्लामा छ प्रहरीसहित सङ्क्रमित हुनेको सङ्या १९ पुगेको छ । यसअघि सङ्क्रमण देखिएका बाह्र जना उपचारपछि घर फर्किसकेका छन् भने, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक जना उपचाररत रहेका छन् ।
जिल्लामा भेटिएका सङ्क्रमित सबैजना बाहिरी देश तथा छिमेकी जिल्लाबाट भित्रिएका मात्र रहेका छन् । वैदेशिक रोजगारीका क्रममा विभिन्न देश तथा छिमेकी जिल्लाबाट आउने जिल्लाबासीलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुका साथै पिसिआर रिपोर्ट नेगेभि आएपछि मात्र घर पठाउने गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति खोटाङले जिल्लाका दशवटै स्थानीय तहलाई आइसोलेसन वार्डको व्यवस्था गर्न आग्रह गरेको छ । विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा गत आइतबार बसेको बैठकले जिल्लाका दुई नगरपालिकालाई २०÷२० तथा आठ गाउँपालिकालाई दश÷दश शैयाको आइसोलेसन वार्ड निर्माण गरेर तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।
यसैबीच, जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लास्थित सबै हाटबजार बन्द गराएको छ । बन्दाबन्दी हटेसँगै शुरु भएको भीडभाड बढ्दा कोरोनाको भाइरसको जोखिमसमेत बढेको भन्दै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णय अनुसार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराएको हो ।
कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि हाटबजार बन्द गराइएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । दिनानुदिन जोखिम बढिरहेको समयमा हाटबजारमा भने भिडभाड देखिन थालेपछि प्रशासनले चासो देखाएको हो ।