खोटाङ, २ भदौ । जिल्लाका दशवटै स्थानीय तहमा मापदण्ड अनुसारको आइसोलेसन वार्ड निर्माण गर्न कार्यदल गठन गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १७ औँ बैठकले जिल्लाका सबै स्थानीय तहमा मापदण्ड अनुसारको आइसोलेसन निर्माण गर्न प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलको सदस्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायका प्रमुख, जिल्ला अस्पतालका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका सभापति र उद्योग वाणिज्य सङ्घलाई चयन गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण वृद्धि हुने दर दिनानुदिन बढीरहेकाले सम्भावित खतरालाई मध्यनजर गर्दै कार्यदल गठन गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो ।
समितिको बैठकले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लालाई पायक पर्ने ओखलढुङ्गामा प्राविधिकसहितको पिसिआर टेष्ट मेसिन व्यवस्था गर्न संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । पिसिआर टेष्ट मेसिन व्यवस्थाका लागि जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको व्यवस्थापनमा संयुक्त क्वारेन्टिन सेन्टर सञ्चालन गर्न समन्वय गर्ने निर्णय गरिएको संयोजक चाम्लिङले बताउनुभयो । कोरोनाको सङ्क्रमण दर बढीरहेकोबेला अनियन्त्रित रुपमा हुने आगमन नियन्त्रण गर्न खोटाङ आउन चाहने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय खोटाङको अनुमती प्राप्त भएपछि मात्र आउने पास दिन अन्य सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने, हरितालिका तीज घर–घरमै मनाउन आग्रह गर्ने निर्णय गरिएको छ ।
क्वारेन्टिनमा बस्ने व्यक्तिलाई लाग्ने खर्चको ५० प्रतिशत दायित्व बहन गराउने, स्थानीय तह, कार्यालय र सङ्घसंस्थाले छापा तथा विद्युतीय सञ्चार माध्यमबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक श्रव्य, दृश्य, प्रहसन, नाटक लगायतका सन्देशमुलक अभियान प्रशारण÷सञ्चालन गर्ने निर्णय गरिएको संयोजक चाम्लिङले बताउनुभयो । “बन्दाबन्दी हटेसँगै सर्वसाधारणको भीडभाड बढ्दा कोरोनाको भाइरसको जोखिमसमेत बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “भिडभाडलाई नियन्त्रण गर्न जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजारसमेत बन्द गरिएको छ ।”
जिल्ला विपद व्यवस्थापन समिति खोटाङले पनि जिल्लाका दशवटै स्थानीय तहलाई आइसोलेसन वार्डको व्यवस्था गर्न आग्रह गरेको छ । जिल्लाका दुई नगरपालिकालाई २०÷२० तथा आठ गाउँपालिकालाई दश÷दश शैयाको आइसोलेसन वार्ड निर्माण गरेर तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अहिलेसम्म १९ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा भेटिएका कोरोना सङ्क्रमित सबैजना बाहिरी देश तथा छिमेकी जिल्लाबाट भित्रिएका मात्र रहेका छन् ।
सङ्क्रमितमध्ये बाह्र जना उपचारपछि घर फर्किसकेका छन् भने, सात जना उपचारमा रहेका छन् । पछिल्लो समय विराटनगरबाट सरुवा भएर आएका छ जना प्रहरी जवानमा एकै दिन सङ्क्रमण पुष्टि भएको थियो ।