कोरोना नियन्त्रणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रु ७३ लाख खर्च

Halesi Khabar
0 Shares

खोटाङ, २ भदौ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ७३ लाखभन्दा बढी रकम खर्च गरेको जानकारी दिएको छ । जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी÷शिक्षकको तलब कट्टी, विभिन्न योजनाबाट रकमान्तर, संघीय सरकार, प्रदेश सरकार, व्यक्ति तथा सङ्घसंस्थाबाट नगरपालिकाको कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा राहत कोषमा रु एक करोड छ लाख ९८ हजार जम्मा भएकामा हालसम्म रु ७३ लाख ३५ हजार खर्च भएको नगरपालिकाले मंगलबार आयोजना गरेको ‘सुशासनका लागि मिट द प्रेस’ कार्यक्रममार्फत जानकारी दिएको हो ।

राहत वितरणमा रु ४४ लाख ८६ हजार, क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनमा रु ११ लाख ५० हजार, स्वाब तथा बिरामी ओसार–पसारमा रु ९७ हजार, सूचना सञ्चार तथा सचेतना कार्यक्रममा रु ९७ हजार खर्च भएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिनुभयो । कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा राहत कोषमा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिको एक महिनाको सेवा सुविधावापत रु नौँ लाख ५४ हजार, नेपाल सरकारले तोकेको मापदण्ड अनुसार कर्मचारी (स्वास्थ्यकर्मी बाहेक) र शिक्षकको तलब कट्टीवापत रु १७ लाख ६० हजार, विभिन्न नगरस्तरीय योजना÷कार्यक्रमबाट रकमान्तर तथा संशोधनबाट रु ५२ लाख ६३ हजार, स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमबार रकमान्तर रु १२ लाख ८८ हजार, संघीय सरकारबाट रु एक लाख १३ हजार, प्रदेश सरकारबाट रु दश लाख र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु तीन लाख १९ हजार जम्मा भएको नगरप्रमुख रिजालले बताउनुभयो ।

मिट द प्रेस कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप दिक्तेल, जालपा, नेर्पा र बुवालुङमा क्वारेन्टिन निर्माण गरेर सञ्चालनमा ल्याइएको, स्वदेश तथा विदेशबाट आएका नागरिकलाई क्वारेन्टिनमा राख्ने, उनीहरुको पिसिआर र आरडिटि परीक्षणको व्यवस्था मिलाइएको, हालसम्म ३५८ जनाको पिसिआर परिक्षण गर्दा सात जनामा कोरोना पोजिटिभ पूष्टी भएको, सङ्क्रमित सबै घर फर्किसकेको जानकारी दिइएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री खरिद गरिएको, तीन हजार भन्दा बढी परिवारलाई राहत प्रदान गरिएको, नगरपालिकामा दर्ता भएका सङ्घ÷संस्था तथा व्यवसाय नवीकरण दस्तुरमा २५ प्रतिशत छुट दिने, चैत महिनाको फोहरमैला व्यवस्थापन शुल्क छुट दिने निर्णय कार्यान्वयन गरिएको लगायतका क्रियाकलाप सञ्चालन गरिएको नगरप्रमुख रिजालले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाले तीन वर्षको अवधिमा कृषि तथा पशुपञ्क्षी विकास, पूर्वाधार विकास, सामाजिक विकास, वन, वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा प्राप्त गरेका उपलब्धीका बारेमा जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया