खोटाङ, ४ भदौ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले परापूर्वकालदेखि मनाइँदै आइएको हरितालिका तीजलाई यस वर्ष घरैमा मनाउन आग्रह गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १७ औँ बैठकले भोलि भदौ ५ गते परेको हरितालिका तीजको अवसरमा जमघट नहुन तथा भिडभाड नगर्न जिल्लाका दिदीबहिनीलाई आग्रह गरेको हो ।
दिनानुदिन कोरोना भाइरसको सङ्क्रमण बढीरहेका अवस्थामा एकठाउँमा भेला हुँदा सङ्क्रमण फैलिने सम्भावना भएकाले सामूहिकरुपमा भिडभाड नगरी घरैमा बसेर हरितालिका तीज मनाउन आग्रह गरिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “बन्दाबन्दी हटाइएपछि जिल्लामा जताततै शुरु भएको भीडभाडले कोरोना सङ्क्रमणको जोखिम बढेको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमण हावाबाट सर्ने भएकाले बढी भिडभाड नगर्न र घरैमा बसेर तीज अनाउन सबै दिदीबहिनीलाई आग्रह गरिएको हो ।”
यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाले पनि हरितालिका तीज आ–आफ्नो घरैमा बसेर मनाउन दिदीबहिनीलाई आग्रह गरेको थियो । कोरोना सङ्क्रमणको खतरा बढीरहेको भन्दै गाउँपालिकाले सूचना जारी गरेर हरितालिका तीजलाई आ–आफ्नो घरभित्रका परिवारसँग मात्र मनाउन आग्रह गरेको हो ।
जिल्लाका धेरैजसो स्थानीय तह, कार्यालय, राजनीतिक दल, सङ्घसंस्था लगायतले आयोजना गरेको कार्यक्रममा बिना सावधानी भीडभाड बढ्न थालेको छ । कोरोनाको सङ्क्रमबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने यो बेला जिल्लाका अधिकांश क्षेत्रमा जिम्मेवार व्यक्तिहरुले नै हेलचक्र्याइँ गर्ने गरेको पाइएको छ ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न भनेपनि जिल्लामा हाल सोको पालना हुन सकेको छैन । घरबाहिर निस्कँदा अनिवार्य लगाउनुपर्ने मास्कको प्रयोगमै लापरवाही भइरहेको देख्न सकिन्छ ।
यतिसम्म कि बजारमा हिँडडुड गर्ने मानिसहरु आफूले लगाउनुपर्ने मास्क प्रहरीका लागि मात्र लगाउनुपर्ने जस्तो गरेको देखिन्छ । जब प्रहरीको नजिक पुग्छ, तब मात्र गोजीबाट मास्क झिकेर लगाउने गरेको पाइन्छ ।
सुरक्षाका मापदण्ड पालना नगरी हिँडडुल गरेको वा अनावश्यक भिडभाड गरेको पाइएमा नियन्त्रणमा लिएर सङ्क्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने व्यवस्था छ । तर, बन्दाबन्दी हटेपछि हाल जिल्लाका हरेक क्षेत्रमा भीडभाड बढ्दो छ ।
जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लास्थित सबै हाटबजार बन्द गराएको छ । बन्दाबन्दी हटेसँगै शुरु भएको भीडभाडले कोरोनाको भाइरसको जोखिमसमेत बढेको भन्दै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णय अनुसार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराएको हो ।
कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि हाटबजार बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । दिनानुदिन जोखिम बढिरहेको समयमा हाटबजारमा भने भिडभाड देखिन थालेपछि प्रशासनले चासो देखाएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्या १९ पुगेको छ । विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका ११ जना प्रहरी जवानको पिसिआर परीक्षण गर्दा एकैसाथ छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका उनीहरुमा सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ । यसअघि सङ्क्रमण देखिएका बाह्र जना उपचारपछि घर फर्किसकेका छन् भने, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक जना उपचाररत रहेका छन् ।