हलेसी तुवाचुङ नगरपालिकाका पाँच जनामा कालाजारको सङ्क्रमण

Halesi Khabar
0 Shares

खोटाङ, ४ भदौ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका पाँच जनामा कालाजारको सङ्क्रमण देखा परेको छ । स्वास्थ्यचौकी बाहुनीडाँडाका अहेव मदन पण्डितका अनुसार फरक–फरक समयमा उपचार गराएर घर फर्किएपछि पाँच जनामा कालाजार लागेको विषयमा जानकारी भएको हो ।

आर्थिक वर्ष २०७६÷०७७ मा चार जनालाई र चालु आर्थिक वर्ष एक जनालाई कालाजार भएको रेकर्ड राखिएको नगर स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो । तराईमा देखिने कालाजारबाट बिरामी हुनेमा १२ वर्षका बालिकादेखि ५९ वर्षका बृद्धसम्म रहेको सहसंयोजक घिमिरेले जानकारी दिनुभयो ।

पाँच जनामध्ये चार जनाको ओखलढुङ्गामा र एक जना महिलाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य परीक्षणकाक्रममा कालाजार भएको पुष्टि भएको जनाइएको छ । यस बारेमा स्वास्थ्य कार्यालय र प्रदेशलाई पनि जानकारी गराइसकिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले भने कालाजारको आशंकामा एक जनालाई मात्र अन्यत्र पठाइएको बताउनुभएको छ । कालाजार लागेपछि ज्वरो आउने, मान्छे दुब्लाउदै जाने, खाना नरुचाउने, रक्त अल्पता हुने, छाला डढेकोजस्ते कालो हुने, अधिक तौल घट्ने लगायतका लक्षण देखिने गरेको छ ।

कालाजार लागेपछि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्न प्रभावित क्षेत्रका नागरिकको हितका लागि नगरपालिकामै परीक्षण गर्ने र उपचार गर्ने व्यवस्था मिलाइनुपर्ने बाहुनीडाँडाका शिक्षक दिलीप राईले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म उक्त रोगको परीक्षण तथा उपचार गर्ने व्यवस्था छैन ।

तपाईको प्रतिक्रिया