जिल्ला अस्पताल खोटाङको सम्पूर्ण सेवा पुनः सञ्चालनमा, छ प्रहरी कोरोना जितेर फर्किए

Halesi Khabar
0 Shares

खोटाङ, ११ भदौ । सङ्क्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि जिल्ला अस्पताल खोटाङको सम्पूर्ण सेवा पुनः सञ्चालनमा ल्याइएको छ । अस्पतालबाट रेफर गरिएकी एक किशोरीमा कोरोना सङ्क्रमण देखिएपछि यहि भदौ ९ गतेबाट बन्द गरिएको अस्पतालको नियमित सेवा बिहिबार साँझ सङ्क्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि पुनः सञ्चालन ल्याइएको हो ।

यहि भदौ २ गते जिल्ला अस्पताल भर्ना भएकी किशोरीको जिल्लामा उपचार सम्भव नभएपछि भदौ ४ गते थप उपचारका लागि काठमाडौँस्थित पाटन अस्पताल रिफर गरिएको थियो । काठमाडौँको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पाटन अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएकी किशोरीको भदौ ९ गते पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

झाडापखाला तथा ज्वरोका कारण बिरामी परेर रेफर गरिएकी किशोरीलाई कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालले सूचना जारी गर्दै आकस्मिक बाहेक आफ्नो सबै सेवा बन्द गरेको थियो । तेस्रो पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट निस्किएर काठमाडौँमै रहेकी सङ्क्रमित भनिएकी किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

किशोरीको उपचारमा संलग्न अस्पतालका स्वास्थ्यकर्मीसहित ५६ जना पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालका कार्यालय प्रमुख रवीनकुमार फुयाँलले बताउनुभयो । सबै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले सूचना प्रकाशन गरेर बन्द रहेको सेवा पुनः शुरु गरिएको जनाएको छ ।

यसैबीच, कोरोना भाइरसबाट सङ्क्रमित खोटाङका छ जना प्रहरी जवान बिहिबार कोरोना जितेर कार्यालय फर्किएका छन् । सङ्क्रमण पुष्टि भएलगत्तै गत साउन ३१ गतेदेखि जिल्ला अस्पताल खोटाङको आइसोसेलनमा राखेर उपचार गरिएका उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि बिहिबार कार्यालय फर्किएका हुन् ।

कोरोना जितेका उनीहरुलाई प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया, सशस्त्र प्रहरी बल हलेसी गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक सरोज कार्की, जिल्ला अस्पतालका प्रमुख रवीनकुमार फुयाँल र डा. शैलेस श्रेष्ठले फुल तथा खादा ओढाएर बिदाइ गर्नुभएको थियो । अस्पतालको आइसोलेसनबाट बिदाइ भएका उनीहरुलाई अझै हप्ता दिनसम्म क्वारेन्टिनमा राखेपछि मात्र काममा खटाइने प्रनाउ चिमरियाले बताउनुभयो ।

उनीहरुको यहि भदौ ९ गते स्वाब सङ्कलन गरेर परीक्षणमा पठाइएकामा बिहिबार रिपोर्ट आएको जिल्ला अस्पताल खोटाङले जनाएको छ । सङ्क्रमण देखिएका उनीहरु विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका थिए ।

गत साउन २३ गते सरुवा भएर आएका ११ जना प्रहरीमध्ये पिसिआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण देखिएपछि क्वारेन्टिनमा सँगै राखिएकाको पुनः पिसिआर परीक्षण गर्दा अर्का एक जनामा समेत सङ्क्रमण देखिएको थियो । सङ्क्रमित प्रहरी जवानलाई भदौ ९ गतेदेखि आइसोलेसनमै राखिएको छ ।

तपाईको प्रतिक्रिया