काठमाडौँ, १२ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।
कोरोना सङ्क्रमण बढेका कारण बैठक स्थगित भएको जानकारी पाएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो । स्रोतका अनुसार सचिवालय सदस्यसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित बैठकमा सहभागीलाई कोरोना संक्रमण देखिएकाले सचिवालय बैठक स्थगित भएको हो ।
पोखरेल र थापा एक साता आइसोलेसनमा बस्ने भएका छन् । यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेता नेपाल घरमै आइसोलेसनमा बसेका थिए ।
नेता नेपालको आइसोलेनमा बस्ने अवधि सकिएको भोलिपल्ट अर्थात भदौ १३ गतेलाई सचिवालय बैठक तय भएको थियो । आगामी बैठकमा विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।