ऐसेलुखर्क गाउँपालिकामा १५ दिन दैनिक कामकाज बन्द

Halesi Khabar
0 Shares

खोटाङ, १६ भदौ । ऐसेलुखर्क गाउँपालिकाले १५ दिनका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्रगतिमा फैलिँदै गएको र सर्वसाधारणको ज्यान लिइरहेको संवेदनशील अवस्थामा ‘कोरोना भाइरसबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारालाई मध्यनजर गर्दै गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै काम बन्द गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आगामी भदौ ३० गतेसम्मका लागि अत्यावश्यक÷विशेष परिस्थिति बाहेक सबै कार्यालय, व्यापार÷व्यवसाय, बैङ्क तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । यस्तै, १५ दिनका लागि ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कबाट चल्ने सम्पूर्ण सवारी साधन आवत–जावतमा समेत रोक लगाइएको छ ।

गाउँपालिकाबाट सम्झौता भएर सञ्चालन भइरहेका आयोजनाको लागि स्वीकृति लिएर निर्माण सामग्री ढुवानी गर्नुपर्ने र भदौ १८ गतेसम्ममा खाद्यान्न खरिद र बैङ्क तथा बित्तीय संस्थाबाट सामाजिक दूरी कायम गर्दै अतिआवश्यक काम गर्न÷गराउन सकिने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । जिल्लाका अन्य स्थानीय तहमा भने दैनिक कामकाज निरन्तर सञ्चालन भइरको छ ।

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २० जना भेटिएका छन् । सङ्क्रमितमध्ये १९ जना उपचारपछि घर फर्किएका छन् भने, एक जना जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अहिलेसम्म एक हजार ३७६ जनाको पिसिआर परीक्षण गरिएको जनाइएको छ । मुलुकभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न जिल्लामा ‘तपाईको मास्क खोई ?’ अभियान कडाइका साथ सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया