खेर गइरहेका नास्पातीबाट जुस र पेरी उत्पादनको तयारी

Halesi Khabar
0 Shares

खोटाङ, १६ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नास्पातीबाट जुस र पेरी उत्पादनको तयारी थालिएको छ । जालपामा प्रशस्त मात्रामा उत्पादन भए पनि बजार अभावमा खेर गइरहेका नास्पातीलाई सदुपयोग गर्दै आम्दानीको श्रोतकारुपमा विकास गर्न जनसेवा कृषि सहकारी संस्थाले नास्पातीको जुस तथा पेरी उत्पादनको तयारी थालेको हो ।

नास्पातीबाट जुस र पेरी उत्पादन गर्न हात तथा विद्युतबाट सञ्चालन हुने मेसिन खरिद गरेर नास्पानी सङ्कलन शुरु गरिएको जालपाका वडाध्यक्ष विकास राईले बताउनुभयो । प्रतिकेजी रु चारका दरले स्थानीय किसानबाट एक हजार नास्पाती खरिद गरेर ट्याक्टरमा सङ्कलन गरिसकिएको छ ।

जुस र पेरी उत्पादनका लागि नास्पाती खरिद शुरु भएपछि स्थानीय किसान उत्साहित बनेका छन् । जालपामा मात्र वार्षिक दश हजार केजीको हाराहारीमा उत्पादन हुने नास्पातीलाई प्रशोधन गर्दै जुस र पेरी उत्पादन गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताउनुभएको छ ।

खेर गइरहेका नास्पातीबाट जुस र पेरी उत्पादन गर्न वडा कार्यालयले मेसिन खरिद र तालिम सञ्चालनमा सहयोग गरेको छ । हाल नास्पाती सङ्कलन गरेर रस निकाल्ने काम भइरहेको र भदौ २० गतेदेखि औपचारिकरुपमा जुस र पेरी उत्पादन, लेवलिङ, बोटलिङ र बजारीकरणको काम गरिने संस्थाले जनाएको छ ।

कोरोना महामारीका कारण हाल काठमाडौँल कडाउन भएकाले हाललाई जुस र पेरी ड्रममा भण्डारण गरिने छ । सहज वातावरण बनेपछि आवश्यक सामग्री ल्याएर जुस र पेरीको लेबलिङ र बोटलिङको काम गरिने वडाध्यक्ष राईले बताउनुभयो ।

जालपामा नास्पातीसँगै सुन्तला, आल्चा, आँप लगायतका मौसमी फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्य राखिएको छ । लटरम्म फल्ने र पाकेपछि झरेर खेर जाने नास्पातीबाट जालपामा २०५८÷०५९ साल पनि पेरी (वाइन) उत्पादन गरिएको थियो ।

तपाईको प्रतिक्रिया