माथिल्लो रावाखोला जलविद्युत आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडियो

Halesi Khabar
0 Shares

खोटाङ, १७ भदौ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना राष्ट्रिय प्रशारणलाइनमा जोडिएको छ । उक्त गाउँपालिकाको वडा नं. ६ दिप्सुङ र वडा नं. ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट हालै उत्पादन गरिएको तीन मेगावाट क्षमताको जलविद्युत आयोजनालाई दिक्तेल–गाईघाट ३३ केभी प्रशारणलाईन अन्तरगत बुइपामा सञ्चालित सव–स्टेशनमा जोडिएको हो ।

रावाखोलाको पानीलाई सुङ्देलको बिहिबारेमा निर्माण गरिएको हेडड्रेसबाट दुई हजार १०० मिटर लामो पाइपलाइनमार्फत सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत उत्पादन गरिएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रा.लि.का सञ्चालक मुक्ति तिम्सिनाले बताउनुभयो । “जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोडिएसँगै भदौ १६ गतेदेखि नेपाल विद्युत प्राधिकरण खोटाङले जिम्मा लिएर मिटर रिडिङको काम शुरु गरेको छ”, उहाँले भन्नुभयो, “जलविद्युत आयोजनाको सम्पूर्ण काम सम्पन्न भएपनि अहिले विश्वभर महामारीको रुपमा देखा परेको कोरोना भाइरसका कारण माथिल्लो रावाखोला जलविद्युत आयोजनाको औपचारिक उद्घाटन भने केहि समयपछि मात्र गर्ने तयारी गरेका छौँ ।”

राष्ट्रिय बाणिज्य बैङ्कको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रा.लि.को ३० प्रतिशतगरी करीब रु ६० करोडको लागतमा माथिल्लो रावाखोला जलविद्युतको काम सम्पन्न भएको जनाइएको छ । वि.सं. २०६८ सालदेखि उत्पादनको पहल थालिए पनि वि.सं. २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत आयोजनाको लागि कन्ट्रक्सन निर्माणको काम शुरु गरिएको थियो ।

माथिल्लो रावाखोला साना जलविद्युत आयोजनाको पावरहाउस, हेड, पाईप अड्याउने स्याडल, एङ्कर ब्लक लगायतका सिभिल कन्ट्रक्सनको काम ट्रिपल एक्स कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले, जेनेरेटर, टर्वाइन, ट्रान्सफर्मर, प्यानल उपकरण जडान लगायतका इलेक्ट्रो मेकानिकलको काम सिमर इनर्जीले तथा ईन्जिनियरिङको काम काम युनिट्स ईन्जिनियरिङ कन्सटेन्सीले गरेको जनाइएको छ । केपिलासगढी गाउँपालिकाबाट उत्पादित माथिल्लो रावाखोला साना जलविद्युत आयोजना जिल्लामा निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएकामध्ये सबैभन्दा ठूलो क्षमताको जलविद्युत आयोजना हो ।

माथिल्लो रावाखोला साना जलविद्युत आयोजनाको विद्युतलाई राष्ट्रिय प्रशारणलाइनमा जोडेर अहिले ट्रायल लिने काम भइरहेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश राय यादवले बताउनुभयो । “जिल्लामा १६ हजार १९४ घर विद्युत उपभोक्ता रहेका छन् । अहिले दुई दशमलव पाँच मेगावाट विद्युत नियमित आएमा प्रयाप्त हुन्छ”, उहाँले भन्नुभयो, “केन्द्रीय प्रशारणलाइनको विद्युत अवरुद्ध भएको समयमा पनि माथिल्लो रावाखोला जलविद्युत आयोजना सञ्चालनमा रहेको खण्डमा जिल्लामा लोडसेडिङ हुँदैन । यसले जिल्लाबासीको लागि ठूलो राहत मिलेको छ ।”

बुइपा सव–स्टेशनमा जोडिएको उक्त जलविद्युत आयोजनाको विद्युत खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुगरि तीन जिल्लामा खपत हुने गरेको छ । यसअघि सञ्चालनमा रहेको ११ केभी प्रशारणलाइनको विद्युतपोल तथा तारमा ३३ केभी प्रशारणलाइनको क्षमता थपिएकाले दिक्तेल–गाईघाट ३३ केभी प्रशारणलाइन पटकपटक अवरुद्ध हुँदै आएको छ ।

माथिल्लो रावाखोला जलविद्युत आयोजनालाई नियमित सञ्चालनमा ल्याउनका लागि विद्युत गृहमा जेनेरेटर जडान गर्न विद्युत प्राधिकरण समक्ष समन्वय गर्ने काम भइरहेको प्रवद्र्धक कम्पनीका सञ्चालक तम्सिनाले बताउनुभयो । “विद्युत गृहमा जेनेरेटर जडान गर्न नेपाल विद्युत प्राधिकरणबाट अनुमति लिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “अहिले केन्द्रीय प्रशारणलाइनको विद्युत जोडेपछि मात्र सञ्चालनमा आउने आयोजनामा जेनेरेटर जडान गरेपछि चौबीसै घण्टा विद्युत उत्पादन गर्न सकिन्छ ।”

दश स्थानीय तह रहेको जिल्लामा एक मेगावाट क्षमताको साप्सुखोला हाइड्रोपावर सञ्चालनमा आइसकेको छ भने, पाँच मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । साप्सुखोलाकै तल्लो क्षेत्रमा पर्ने राजापानी र छोरम्बुको सिमानाबाट उत्पादन गर्न लागिएको पाँच मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सानाठूलागरि दर्जनबढी जलविद्युत योजना सञ्चालनमा रहेका छन् । उक्त विद्युतलाई एकीकृत गरेर केन्द्रीय प्रशारणलाइनमा जडान गर्ने तयारी गरिएपनि काम अगाडि बढेको छैन ।

तपाईको प्रतिक्रिया