खोटाङ, २६ भदौ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर सञ्चालन गर्न लागिएको शहरी खानेपानी आयोजनाको काममा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र वडा नम्बर–६ नेर्पास्थित काहुले मुहानको पानी सञ्चालनमा आफूहरुको मागलाई बेवास्ता गर्दै खानेपानी निर्माण उपभोक्ता समितिले जबरजस्त लैजान खोजेको भन्दै स्थानीय बासिन्दाले अवरोध गरेका हुन् ।
खानेपानी आयोजनामा पानीको मुहान उपभोग गरिरहका सोल्मा र नेर्पाका स्थानीय बासिन्दाले आफूहरुका माग पूरा नगरेसम्म कुनै पनि हालतमा पानी लैजान नदिने शुक्रबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । खानेपानी निर्माण उपभोक्ता समितिले स्थानीय बासिन्दासँग गरेको १२ बुँदे सम्झौता बिपरित छेपेखोला र काहुले मुहानकोसमेत पानी लाने तयारी गरेकाले अवरोध गरिएको छेपेखोला काहुले मुहान सङ्घर्ष समितिका संयोजक हर्कबहादुर पराजुलीले बताउनुभयो ।
सोल्माको रम्बाखोला र माझखोलाबाट पानी दिने सहमती भएपनि मुहानै थुन्नुका साथै छेपेखोला र काहुले मुहानबाटसमेत जबरजस्ती पानी लाने तयारी गरेकाले अवरोध गरिएको खानेपानी समन्वय समितिका संयोजक धनिराम राईले बताउनुभयो । “खानेपानीको मुहानमा बाँध नबाँधी ७५ मिलीलिटरको पाइप राखेर पानी लाने आपसी सहमती भएको थियो”, उहाँले भन्नुभयो, “अहिले माझखोलामा बाँध बाँधेर पानी लगेकाले स्थानीय बासिन्दालाई पानी अभाव हुने र खेतीयोग्य जमिन प्रभावित हुने देखिएको छ । गत वर्षको सम्झौता पूरा नगरी नगरपालिका र शहरी खानेपानी आयोजनाले हेपाहा प्रवृत्ति देखाएकाले आयोजना नै बन्द गर्न बाध्य भएका हौँ ।”
संयोजक राईका अनुसार गत वर्ष नै पानी दिनका लागि उपभोक्ता समिति र स्थानीय बासिन्दाबीच विभिन्न १२ बुँदे सहमति भएको थियो । सम्झौतामा उल्लेख भएअनुसार सोल्मामा पनि उक्त खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने, विभिन्न ठाउँमा रिचार्ज पोखरीहरु निर्माण गर्नुपर्ने, शहरी खानेपानी आयोजना उपभोक्ता समितिमा सोल्माका स्थानीय बासिन्दालाई पनि समेट्नुपर्ने, सोल्मालाई विशेष क्षेत्र बनाई त्यसै अनुसार योजनाहरु सञ्चालन गर्नुपर्ने लगायत सहमती गरिएको छ ।
निर्माणाधीन अवस्थामा रहेको उक्त आयोजना अन्तरगत दिक्तेल बजार, आचार्यगाउँ र बाम्राङका एक हजार ४९ घरधुरीलाई पानी उपलब्ध गराउने योजना थियो । करीब २२ करोड ५६ लाख लागतमा १८ महिनाभित्र गत चैतमा शिलान्यास गरिएको थियो ।
एसियाली विकास बैङ्क (एडिबी)को ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानी हुने उक्त आयोजनाको काम अहिलेसम्म करिब ६५ प्रतिशत सकिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले जानकारी दिनुभएको छ । उक्त खानेपानी आयोजना अन्तरगत मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण, घरघरमा नयाँ धारा विस्तार तथा धारामा मिटर जडान गरिने जनाइएको छ ।
शहरी खानेपानी आयोजनामा देखिएको समस्या केहि दिनभित्रै टुङ्गो लगाइने नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “दिक्तेल बजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर शुरु गरिएको खानेपानी आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “यो खानेपानी आयोजनामा उहाँहरुले शुरुदेखि नै केहि गुनासाहरु राख्नुभएको छ । उहाँहरुले राख्नु् भएको गुनासाहरुलाई केहि दिनभित्रै सम्बोधन गरेर उक्त खानेपानी आयोजनाको काम सम्पन्न गरिनेछ ।”
दिक्तेल बजारमा पुरानो खानेपानी आयोजनाबाट करीब ८०० वटा धारा जडान गरिएको छ । पन्ध्र वडा रहेको उक्त नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारमा कहिले धारामा पानी नै नआउने, आइहाले पनि फोहर तथा दुषित पानी आउने लगायतका समस्या वर्षौँदेखि रहेको उपभोक्ताको गुनासो छ ।