खोटाङ, २९ भदौ । रावाबेँसी गाउँपालिकामा आयोजना गरिएको अनलाइन वक्तृत्वकला प्रतियोगितामा देउराली मावि डुम्रेधारापानीका सुशिला तिमल्सिना प्रथम हुनुभएको छ । बाल दिवसको अवसर पारेर हलेसी विकास मञ्च खोटाङले सोमबार आयोजना गरेको ‘बन्दाबन्दीले बालबालिकामा पारेको असर र वैकल्पिक शिक्षा’ विषयक भर्चुअल वक्तृत्वकला प्रतियोगितामा सहभागी छात्रछात्रालाई हराउँदै तिमल्सिना प्रथम हुनुभएको भएको हो ।
गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत छात्र÷छात्रामात्र सहभागी भर्चुअल वक्तृत्वकला प्रतियोगितामा शारदा मावि खार्पाका प्रतिक पोखरेल दोश्रो र गंगोद्धय मावि दुवेकोलका सञ्जु राई तेश्रो भएका छन् । विजेताले क्रमशः नगद रु दुई हजार, एक हजार ५०० र एक हजार पाउने छन् ।
विजेता छात्रछात्राको पुरस्कार विद्यालयमार्फत पठाइदिने तयारी गरिएको आयोजकले जनाएको छ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा सञ्चालित महिला प्रजनन अधिकार कार्यक्रम अन्तरगत अनलाइन वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हलेसी विकास मञ्चका कार्यक्रम संयोजक वीरेन्द्र
मगरले जानकारी दिनुभयो ।
भर्चुअल वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा गाउँपालिका प्रमुख लीलानाथ निरौला, केडकी कार्यकारी निर्देशक समिता प्रधान, विद्यालयका प्रअ, शिक्षक लगायतको सहभागिता थियो । हलेसी विकास मञ्चले आयोजना गरेको अनलाइन वक्तृत्वकला प्रतियोगिता गाउँपालिकाकै पहिलो भर्चुअल अभ्यास भएको बताइएको छ ।