कार्यकर्ता तानातानमा नेकपा र काँग्रेसबीच होटबाजी

Halesi Khabar
0 Shares

खोटाङ, ३० भदौ । नेपाली काँग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम ग¥यो । काँग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राई लगायतलाई पार्टीमा प्रवेश गरायो ।

भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बतासेको बदला लिनेगरी बृहत कार्यक्रम ग¥यो । खार्मीमा आयोजित कार्यक्रममा काँग्रेसका ८६ जना कार्यकर्तालाई नेकपाले पार्टी प्रवेश गरायो ।

नेकपा र काँग्रेसले बतासे र खार्मीमा आयोजना गरेको कार्यक्रमका तस्वीरहरु अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छाएका छन् । स्थानीय तहको निर्वाचनमा बतासेमा तत्कालीन नेकपा एमाले र खार्मीमा काँग्रेसका उम्मेदवारले जितेको थियो ।

बतासे र खार्मीको उदाहरण हेर्दा स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले हार ब्यहोरेको बदला आगामी निर्वाचनमा जसरी पनि लिनेगरी दुवै पार्टी कम्मर कसेर लागेको देखिन्छ । बतासे र खार्मीमा भएको होटबाजी एउटा उदाहरणमात्र हो ।

कोरोना भाइरसको महामारीकाबीचमा पनि नेकपा र काँग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा चुनावी शैलीमा पार्टीगत कार्यक्रमहरु बिना सावधानीपूर्वक गरिरहेका छन् । एकातर्फ कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ, अर्कातर्फ राजनीतिक दलबीचमै जानाजान भीड जम्मा गरेर कार्यकर्ता तानातान गर्ने होडबाजी चलेको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी यता जिल्लामा किराँत समुदायको साकेला, हिन्दुधर्मावलम्बीको देवाली, नेवार समुदायको लाखे लगायतका चाडपर्वलाई कम उपस्थितिमा मनाउन लगाइएको थियो । सङ्कटकाबेलामा जनस्वास्थ्यको सुरक्षामा अगुवाइ गर्नुपर्ने राजनीतिक दलका नेता तथा कार्यकर्ता भने सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गर्न अग्रसर देखिएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा आफ्नो तथा नागरिकको स्वास्थ्यमा नेता नै असंवेदनशील देखिएका छन् । नेकपा र काँग्रेसमात्र नभइ जनता समाजवादी पार्टीमा पनि ठूलो उपस्थितिमा पार्टीको कार्यक्रम गर्ने, विपक्षी दलका नेता तथा कार्यकर्ता तान्ने र प्रचार गर्ने होडबाजी चलेको देखिन्छ ।

राजनीतिक दलका कार्यक्रममा न भौतिक दूरी कायम गरेको देखिन्छ, न त मास्ककै प्रयोग भएको देखिन्छ । राजनीतिक दलकै नेता तथा कार्यकर्ताले बिना सावधानी सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गरेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ताको चर्को आलोचना भइरहेको छ ।

सरकारले लागू गरेको बन्दाबन्दी खुलेपछि कोरोना भाइरसको सङ्क्रमण बढ्ने खतरा बढेको देखिएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले साउन १४ गते सार्वजनिक सूचना जारी गर्दै सजगता अपनाउन आग्रह गरेको थियो । न्यूनतम भौतिक दूरी कायम गर्न, मास्क लगाएर हिँड्न, अनावश्यक भिडभाड नगर्न, सेवा प्रदायक निकाय वा संस्थालाई स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न÷गराउन भनिए पनि बेवास्ता भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

पार्टीगत कार्यक्रममा मात्र नभई जिल्लामा हुने अधिकांश कार्यक्रममा हेलचक्र्याइँ बढ्दो देखिएकाले सावधारी अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “कोरोना भाइरसको सङ्क्रमबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने यो बेला अधिकांश क्षेत्रमा हेलचक्र्याइँ गरिएको पाइएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न खोपसमेत बनेको छैन । हामीसँग एउटै मात्र विकल्प सावधानी भएकाले हरेक ठाउँमा सावधानी अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।”

पछिल्लो समय जिल्लामा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न बेवास्ता गर्न थालिएको छ । न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न र अनिवार्य मास्क प्रयोग गर्न भनिए पनि सोको पालना हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया