सांसद भट्टराईको पहलमा खोटाङका प्रहरीलाई फेस शिल्ड

Halesi Khabar
0 Shares

खोटाङ, २ असोज । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सुरक्षामा खटिने जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरीलाई फेस शिल्ड प्रदान गरिएको छ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संयोजनमा राजधानी काठमाडौँबाट खरिद गरेर ल्याइएको ३०० थान फेस शिल्ड शुक्रबार जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियालाई प्रदान गरिएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा बढी सुरक्षामा खटिने प्रहरीमा सर्नसक्ने सम्भावना रहेकाले नियन्त्रण गर्ने उद्देश्यले फेस शिल्ड उपलब्ध गराइएको सांसद भट्टराईले बताउनुभयो । “यो महामारीको समयमा जनताको सुरक्षा गर्न प्रहरी अग्रपङ्क्तिमा रहनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “अग्रपङ्क्तिमा खटिने प्रहरीबाट कोरोना भाइरसको सङ्क्रमण फैलिने सम्भावना बढी भएकाले नियन्त्रण गर्न सुरक्षा सामग्रीस्वरुप फेस शिल्ड प्रदान गरिएको हो ।”

जिल्ला सुरक्षा समितिका संयोजक एमव् प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बन्दाबन्दी हटेसँगै कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावना बढी भएकाले सतर्कता अपनाउन जिल्लावासीलाई सार्वजनिक सूचनामार्फत आग्रह गरिएको बताउनुभयो । “देशमा बन्दाबन्दी हटेसँगै जनस्वास्थ्य र सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न सूचनामार्फत भनिएको छ”, उहाँले भन्नुभयो, “घर बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न, न्यूनतम दुई मिटरको भौतिक दूरी कायम गर्न, पटकपटक साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्ने लगायतका स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्न आग्रह गरिएको छ ।”

सांसद भट्टराईले उपलब्ध गराउनुभएको फेस शिल्ड जिल्लाका दशवटै स्थानीय तहका प्रहरी चौकीमा पठाइने प्रनाउ चिमरियाले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न मास्कभन्दा फेस उपयोगी रहेको जनाइएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अहिलेसम्म २२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २१ जना उपचारपछि घर फर्किसकेका छन् भने, एक जना उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया