–भीम राई
खोटाङमा अहिले निकै ठूलो चालढालका साथ राजनीतिक दलको प्रशिक्षण तथा भेलाहरु चलिरहेका छन् । गाउँगाउँमा पुगेर नेताहरुले आफ्नो बलबुत्ताले भ्याएसम्म कार्यकर्तालाई उक्साईरहेका छन् । यताकाले उता तान्ने उताकाले यता तान्ने भ्याएसम्मको तागतले उनीहरु जोडबल गरिरहेका छन् ।
कोरोनाको कहर छ भन्दै भेला र प्रशिक्षण चलाइरहँदा जोखिम घट्ला त ? सर्वसाधरण नागरिकहरु भने डराइ रहेका छन् । राजनीतिक दलका नेता कार्यकर्ताहरुकै कारण कोरोनाको सङ्क्रमण बढेमा कसरी नियन्त्रण हुन्छ होला भन्ने जिज्ञासा सुन्न थालिएको छ । चुनावी ताकाको झल्को दिनेगरि दलहरु दलबल लिएर गाउँगाउँ दौडि रहेका छन् ।
यसरी दौडाहा गर्न थालेपछि जिल्लामा कोरोनाको जोखिम निकै बढेको छ । केही समय अगाडि नेपाली काँग्रेस खोटाङले दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा एक भव्य कार्यक्रम नै ग¥यो । काँग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राई लगायतलाई पार्टीमा प्रवेश पनि गरायो ।
यो भेलामा हेर्दा सामाजिक दूरी कुन चरीको नाम हो कसैले यसको प्रवाह गरेनन् । स्वयम् गाउँपालिका प्रमुख, उपप्रमुखसमेत हाजिर भएका कार्यक्रममा कोरोनाको कुनै कहर भए जस्तो लागेन । यस्तै यसको प्रतिउत्तरमा भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बतासेको बदला लिनेगरी अर्को कार्यक्रम ग¥यो । खार्मीमा भएको कार्यक्रममा नेपाली काँग्रेस र जनता समाजवादीका केही दर्जन कार्यकर्तालाई नेकपाले पार्टी प्रवेश गरायो ।
याहाँ पनि कोरोनाको सङ्क्रमण हुने खतराको कुनै प्रवाह गरिएन नेकपा ठूलै नेताहरु सहभागी भएको कार्यक्रममा जिल्ला सदरमुकाममा मास्क खोइ कार्यक्रम चलाइरहेको नगरप्रमुख उपप्रमुख दुईजना नै सहभागी थिए । कार्यक्रमपछि सामाजिक सञ्जालहरुमा राखिएको तस्वीर हेर्दा यता पनि सामाजिक दूरी कायम गरिएको पाइएन ।
जनता समाजवादी खोटाङलेसमेत केही समय अगाडि हलेसी तुवाचुङ नगरपालिका आन्तरिक कार्यक्रम ग¥यो । कार्यक्रममा सरकारका कडा आलोचना गर्ने जनता समाजवादीका केन्द्रिय सदस्य मदन राई लगायतको नेताहरु उपस्थित थिए । त्यहाँ भएको भेलामा पनि सामाजिक दूरी कायम गरेको देखिएन ।
कोरोनाको जोखिम न्यूनीकरणको उपायहरु अबलम्बन गरिएको पाइएन । यी र यस्ता दृष्यहरु अहिले प्रत्येक गाउँ तथा टोलहरुमा छ्यास छ्यास्ती देखिन थालिएका छन् । अझ सरकारले अहिले एक कदम अगाडि जोखिम मोलेर सवारी साधन सञ्चालन गर्न लागेको छ । यस्तो बेला उच्च सावधानी अपनाएर मात्र सवारी सञ्चालन गर्न ५० प्रतिशत मात्र यात्रु राखेर सवारी चलाउन प्रशासनले आग्रह गरेको छ । यसले पनि खास कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्ला भन्ने लाग्दैन ।
कोरोना भाइरसको महामारीकाबीचमा पनि नेकपा र काँग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा चुनावी शैलीमा पार्टीगत कार्यक्रमहरु बिना सावधानीपूर्वक गरिरहेका छन् । एकातर्फ कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ, अर्कातर्फ राजनीतिक दलबीचमै जानाजान भीड जम्मा गरेर कार्यकर्ता तानातान गर्ने होडबाजी चलिरहेको छ ।
ठूला र जिम्मेवार भनिएका दलहरुले नै भिडभाड गराउनु जायज नै होला र ? प्रश्नहरु उब्जिएका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी यता जिल्लामा किराँत समुदायको साकेला, हिन्दुधर्मावलम्बीको देवाली, नेवार समुदायको लाखे लगायतका चाडपर्वलाई कम उपस्थितिमा मनाउन लगाइएको थियो ।
सङ्कटकाबेलामा जनस्वास्थ्यको सुरक्षामा अगुवाइ गर्नुपर्ने राजनीतिक दलका नेता तथा कार्यकर्ता भने सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गर्न अग्रसर देखिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा आफ्नो तथा नागरिकको स्वास्थ्यमा नेता नै असंवेदनशील देखिएका छन् ।
नेकपा र काँग्रेसमात्र नभइ जनता समाजवादी पार्टीमा पनि ठूलो उपस्थितिमा पार्टीको कार्यक्रम गर्ने, विपक्षी दलका नेता तथा कार्यकर्ता तान्ने र प्रचार गर्ने होडबाजी चलेको देखिन्छ । राजनीतिक दलका कार्यक्रममा न भौतिक दूरी कायम गरेको देखिन्छ, न त मास्ककै प्रयोग भएको देखिन्छ ।
राजनीतिक दलकै नेता तथा कार्यकर्ताले बिना सावधानी सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गरेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ताको चर्को आलोचना भइरहेको छ । सरकारले लागू गरेको बन्दाबन्दी खुलेपछि कोरोना भाइरसको सङ्क्रमण बढ्ने खतरा बढेको देखिएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले सार्वजनिक सूचना जारी गर्दै सजगता अपनाउन आग्रह गरेको थियो ।
न्यूनतम भौतिक दूरी कायम गर्न, मास्क लगाएर हिँड्न, अनावश्यक भिडभाड नगर्न, सेवा प्रदायक निकाय वा संस्थालाई स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न÷गराउन भनिए पनि बेवास्ता भइरहेको छ । पार्टीगत कार्यक्रममा मात्र नभई जिल्लामा हुने अधिकांश कार्यक्रममा हेलचक्र्याइँ बढ्दो देखिएकाले सावधानी अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले समेत आग्रह त गरेको छ । तर त्यही जिल्ला समन्वय समितिका पदाधिकारीहरु पार्टीको कार्यक्रमहरुमा सहभागी हुन पुग्ने गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने यो बेला अधिकांश क्षेत्रमा हेलचक्र्याइँ गरिएको छ । अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न कुनै खास कुनै किसिमको औषधीहरु समेत बनि सकेको छैन । यस्तो बेला यो भाईरसको संक्रमणबाट जोगिने विकल्प उच्च सावधानी मात्र भएकाले हरेक ठाउँमा सावधानी अपनाउन पर्दछ ।
पछिल्लो समय जिल्लामा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न बेवास्ता गर्न थालिएको छ । न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न र अनिवार्य मास्क प्रयोग गर्न भनिए पनि सोको पालना हुन सकेको छैन । यसले के देखाउँदै छ भने अब कोरोना भाइरको सङ्क्रमण प्रत्येक टोलबस्ती र घरहरुमा छिर्न सक्दछ ।
यसले ढिलो चाँडो सबैलाई भेट्ने खतरा बढेको छ । यसका लागि बेलैमा सचेत रहन र न्यूनतम सावधानी र सर्तकता अपनाउन नै आजको आवश्यकता हो । सबैलाई चेतना खुलोस ।
लेखक ः प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।