कुलमानलाई जम्न हैन, बग्न दिउँ

Halesi Khabar
0 Shares

–भीम राई
हाम्रा देशमा अहिले देवत्वकरणको राम्रो चलन शुरु भएको छ । पछिल्लो समयमा नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिएर सबैतिर देवत्तकरण गर्न खोजिएको छ । उनले नेपाल विद्युत प्राधिकरणमा निकै लामो समय जागिर गरेका छन् । चिलिमे जलविद्युत परियोजनाको कार्यकारी निर्देशक भएर काम गरेका कुलमानलाई राधा ज्ञावली जलश्रोत मन्त्रि हुँदा हटाएर दुई वर्षसम्म हाजिरमात्र गराइएको थियो ।

त्यसपछि तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको पालामा मन्त्रि परिषदको बैठकले दुई वर्षपछि प्राधिकरणको ११ औँ तहको इन्जिनियर घिसिङलाई प्रमुखको जिम्मा दियो । एउटा इमान्दार कर्मचारीले कामको जिम्मा पाउँदा के गर्न सक्दो रहेछ भन्ने कुरा उनले प्रमाणित गरिदिए । जम्मा सरकारले चार वर्षका लागि कामको जिम्मा दिएका उनलाई पदावधि सकिएपछि विदा गर्नु स्वभाविक हो ।

अहिले कुलमान घिसिङ उज्यालोको प्रतिक हुन यसमा कुनै शंका छैन । उनलाई पुन नियुक्तीको आशा राख्नु पनि अपराध होइन । तर, जसरी कुलमान आफैलाई नै अफ्ठयारो लाग्ने गरी देवत्वकरण गरिँदै छ । यो भने राम्रो सङ्केत होइन ।

कुलमानका ठाउँ जो सुकै आएपनि अब उनले भन्दा राम्रो व्यवस्थापन गर्न सक्ने र हाल निर्माणधिन रहेका आयोजनाहरुलाई सफलतापूर्वक सम्पन्न गर्ने व्यक्ति आउन जरुरी छ । घिसिङले गरेका कामलाई निरन्तरता दिएर अर्को सफल व्यक्ति बन्न सक्ने पात्रको खोजि हुनुपर्छ । कुलमान जतिका क्षमतावान व्यक्तिका लागि राज्यले अर्को स्थानमा फेरी कार्यक्षमताको प्रयोग गर्ने अवसर दिनसक्नु पर्दछ ।

यसो गरेमा एकजना असल व्यक्ति हजारौँ फटाहा भन्दा माथी रहन्छ । विद्युतको क्षेत्रमा कसरी चमत्कारी काम भयो त्यस्तै अन्यक्षेत्रमा समेत विकास हुन सक्तछ । प्राधिकरण जस्तै सरकारले चाहेमा त्यस्ता धेरैवटा सरकारी स्वामित्वमा सञ्चालन भइरहेका बेथिति झेलीरहेका निकायहरु छन् । त्यो पाटोमा सरकारले सोच्नु पर्दछ । कुलमानलाई देवत्वकरण गर्न हुन्न ।

यस्तै देवत्वकरणको अर्को पाटा केही समय अगाडिको एउटा घटना थियो । रवि लामीछानेमाथि चलेको दुरुत्साहन अभियोग । यसबेला पनि उनका समर्थकहरुले सडक जाम गरेकै हुन् । उनका पक्षमा लस्कर लागेकै हो । उनले गरेका केही काम राम्रा नै होलान् तर, कानूनी रुपमा अभियोग नै लागि सकेपछि उनको पक्ष र विपक्षमा सडकमा उत्रनु कति सार्थक थियो ।
यस्तै केही समय अगाडि सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद चुलिएर गयो । विवाद चुलिदै जाँदा केही युवाहरु सडकमा एकपक्ष्ीाय नारा जुलुसमा उत्रिए । उनीहरुलाई सरकारले केही गरेन । यसको जवाफ आज कुलमानको पक्षमा निस्कन थालेको छ । रवि लामीछानेको केसमा उत्रेका सडक तताउनेहरुलाई सरकारले विस्वस्त बनाएन । यी तीनवटा घटनालाई हेर्दा नै थाहा हुन्छ । हाम्रो समाज कता जाँदै छ भन्ने कुरा ।

विचार मिल्दा देवता नमिल्दा भुत देख्ने हाम्रो बानी परिसकेको छ । विकल्प विहिन कुनै पनि घटना हुँदैन । तर, हामी कुनै व्यक्ति विशेष निर्विकल्प छ भन्न थालेका छौँ । हामीले सुनेको सत्य भोगेको झुट हो भन्नसमेत पछि नपरेर हामी एकोहोरो लागेका छौँ । यो कदापी सहि होइन । आलोचनात्मक चेत सबैमा हुन जरुरी छ ।

आलोचनात्मक चेतको जागृत नहुँदासम्म हुने अन्धभक्त नै हो । आफूलाई पनि कहिले काही फर्केर आत्मलोचना गर्ने बानी हामीमा हराएको छ । आफ्ना भनिएकाहरुको हितका लागि पनि आलोचना गरेर सुधार्ने बानीको विकासमा जोड गर्नु पर्दछ । राम्रालाई अरु पनि अवसरहरु आउँछन् । उनीहरुलाई बाटो पनि खोलिदिन सकेमा मात्र हामी परिर्वतनको पक्षमा रहन्छौँ ।

काम गर्ने अवसर पाएपछि मात्र क्षमताको पहिचान हुन्छ । काम गर्ने अवसरबाट अरुलाई वञ्चित गरेर गर्न सक्दैन भनेर अविस्वास गर्न पाइन्न । कसैले कसैलाई मुल्याङ्कन गर्ने समय सिमा तोक्ने र कामको प्रतिफल खोज्ने हो । तर, हावाको भरमा कसैप्रति आग्रह पूर्वाग्रह पाल्नु कुनै हालतमा राम्रो मानिन्न ।

अहिले देखिएको कुलमानको पक्षमा सडकमा आएका नआएकाहरुको मनमा कुलमान ढुङ्गाको अक्षर भइसकेका छन् । उनलाई त्यहि रहिरहन र जोगिनु दिनुपर्छ । उनले आफ्नो योग्यता क्षमता र प्रतिभा विद्युतको क्षेत्रमा कुशलता पूर्वक सम्पन्न गरिसकेका छन् । अब उनको व्यवस्थापन र कार्यकौशलताको लागि अर्को स्थान खोज्नु पर्दछ ।

उनको लगनशिलता र मेहिनतले अर्को कुनै संस्थान, निकाय, कम्पनीले फेरी विद्युतकै जस्तो फड्को मार्नेगरी काम दिन सकिदैन र ? यो सम्भव पनि छ । यतिका व्यक्तित्वलाई सम्मान गर्नु पर्दछ । कुलमान तामाङ कुलमा जन्मेर इमान राख्ने योद्धा हुन् । उनलाई बरफ जस्तो जम्न दिनुहुन्न । नदीजस्तो बग्न दिनुपर्दछ । जसले अहिले मौलाइरहेको सबै खाले बेथितिलाई बगाएर सफा र सुन्दर बनाउन सक्दछन् ।
                                                                                                           लेखक ः प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया