–भीम राई
केहि दिन अगाडि एउटा गजबको किस्सा सुनियो । चिया कफिसँगै गफिन जम्मा भएका हामीबीच पहिचानको सवालमा चर्चा भए । यहि सिलसिलामा पुराना कम्युनिष्ट कार्यकर्ता, हाल जनता समाजवादीका जिल्ला नेता टंक थापाले भाषाको बारेमा लाहुरेको किस्सा हाले । उनको पात्रको नाम थियो हेडमान ।
खोटाङबाट लाहुरे हुन पुगेका हेडमान आफ्नो परिश्रमले गोर्खा रेजिमेन्टको कमाण्डर भएका थिएछन् । उनी फुटबल खेलमा समेत निकै अब्बल थिए । उनको पल्टनमा एउटा गोर्खाली टिम नै थिएछ । पछि खेल्दै जाँदा हेडमान (अम्पाएर) रेफ्री नै बनेछन् । उनी रेफ्री बनिसकेपछि उनले यसो सम्झेछन् ।
गोराले आफू र आफ्नो नेपाली दाजुभाइलाई हेपेको, पेलेको पीडा त छँदैछ । केहि त गर्ने प¥यो । यसै मेसोमा गोरा र नेपाली पल्टनको मैत्रीपूर्ण फुटबल खेलाउने सैनिक निर्देशानलयबाट आदेश आएछ । फुटबल खेलको आयोजना हुने भएपछि हेडमानलाई मुख्य रेफ्री घोषणा गरिएछ ।
रेफ्रीको भूमिका पाएपछि हेडमान खेल मैदान पुगे । एकापटी गोरा खेलाडीहरु उस्तै अग्लाअग्ला अर्कोतिर नेपालीहरु उस्तै होचा तर हट्टा कट्टा । खेल शुरु भयो । गोर्खालीहरु न परे फुटबलको नियम अनुसार खेल्दै जाँदा गोराको खुृट्टामा पुगेको बलसँगै मान्छेलाई पनि लाताले बजाउन थालेछन् ।
गोराहरु पनि के कम फुटबलको नियम बिपरित ग¥यो भनेर एम्पाएरलाई जनाउ दिएछन् । हेडमान मुख्य एम्पाएर भएपछि गल्ती खेल्ने खेलाडीलाई सचेत त गराउनै प¥यो । उनले सिठ्ठी फुक्दै ओइ फलाने यता आइज भनेर सङ्केत गरे । बिचारा गोर्खाली सिपाईँ डरले काम्दै नजिकमा पुगे ।
हेडमानले औँला ठडाएर नेपाली भाषामै कडा स्वरमा हप्काएछन् । उनले नजिकमा बोलाएर कडा स्वरमा भनेछन् ‘साले भाते अझै कस्सेर ठोक । तलाई अरुबेला ठोकेको बिर्सिस’ । गोरालाई लाग्यो राम्ररी हप्कायो एम्पाएरले । किनकि उसले नेपाली भाषा जानेको भए पो । यसरी पालै पालो बोलाउँदै अझ कस्सेर फिलामा ठोक भन्दै हेडमानले पठाउँदा रहेछन् । पछि त्यो खेल गोर्खाली पल्टनले जितेछ ।
यस्तै भाषाले कति असर गर्दो रहेछ भन्ने अर्को किस्सा पनि थप आयो । श्रोत उहि टंक थापा नै हुन । कथा फेरीपनि लाहुरे कै । तर, यो अझै फरक निकै रोचक तथा शिक्षामुलक पनि रहेको छ । पहिलो विश्वयुद्ध चलिरहेको रहेछ ।
गोर्खाली फौज लिएर एउटा लडाइँको मोर्चामा जानुपर्ने भएछ । गोर्खाली पल्टनको त्यस लडाइँका लागि बेलायती सेनाले कमाण्डर चाँही एउटा गोरालाई बनाएछ । सहायक कमाण्डर चाँही नेपाली । लडाई भइरहने क्षेत्रमा पुग्यो पल्टन् । सबै सैनिकहरु पूर्व तयारीका साथ तम्तयारीमा रहँदै अगाडि बढि रहेका रहेछन् । मोर्चाको साहायक कमाण्डरले दुश्मनलाई देखेछ ।
देखेपछि उस्ले सबै फौजलाई ‘ओइ लुक लुक’ भनेर आदेश दिएछ । सहायक कमाण्डरको आदेश सुन्न साथ सबै सेना कालिजको चल्ला लुके झैँ छ्याप छुप्प लुकेछन् । तर, विचरा गोरा कमाण्डरले ‘लुक लुक’ भनेको सुनेर जुरुक्क उठेर दुश्मनतिर हेरेछ । दुश्मनले देखि हाल्यो ।
दुश्मनले फायर खोलेर कमाण्डरलाई निधारमै बजारेछ । ठाउँ का ठाउँ ठहरे बनाए छ । यी दुई किस्सा सुनेपछि भाषामा कस्तो शक्ति हुँदा हुन भन्ने प्रष्ट हुँदो रहेछ । पहिलो किस्सामा नेपाली भाषा नबुझ्ने गोराहरुले एम्पाएरको सहयोग खाएको साफी गोदाइ यति भाषा नभएको भए सम्भव थिएन ।
किनकी हेडमान एम्पाएर भएकाले खेलाडिलाई अनुशासित खेलाउनुपथ्र्यो त्यो कर्तव्य निर्वाह गरिरहेको मान्छेले विपक्षी खेलाडिलाई ठोक्ने आदेश दिन मिल्दैन थियो । त्यसरी भनेको थाहा भएको भए फुटबलमा नियमहरुले समेत हेडमान कारबाही हुन्थ्यो । यस्तै अर्को किस्सामा उहि गोरा कमाण्डरले ‘लुक लुक’ भन्दा लुक्नु पर्ने भन्ने बुझेको भए बाँच्थ्यो ।
उसले नेपाली भाषको ‘लुक लुक’ लाई आफ्नै भाषामा ‘हेर हेर’ भन्ने बुझ्दा उसको ज्यान गयो । भाषा भनेको शक्ति हो भन्ने कुरा माथिका किस्साहरु सुनेपछि स्पष्ट हुन्छ । ‘भाषा बाँचे जाती बाँच्छ, जाति बाँचे राष्ट्र’ भन्ने कुरा पुरानै उक्ति हो । यसलाई हामीले समय सापेक्ष बुझ्न सकेनौँ भने धेरै कुरा गुम्छ ।
नेपालमा भएका करीब १२५ भाषा रहेको तथ्याङ्कहरुले देखाउँछ । विभिन्न जातीय समुदायले आफ्नो भाषाको प्रयोग गर्दै आएका छन् । कुनै समयमा भाषिक हिसाबले मात्रै हेर्दासमेत इन्द्रेणी समाज देखिने नेपालमा राज्य सत्ताले भाषामाथिको हस्तक्षेपका कारण केही भाषा सङ्कटमा परेका छन् ।
हामीसँग भएका विभिन्न जातीय समुदायको भाषाहरुसमेत भौगोलिक हिसाबले बदलिएका छन् । सामान्यतः अहिले हामीले बोलिरहेको चलन चल्तिको भाषा सुदुर पश्चिमसँग ठ्याक्क मेल नखानु भौगोलिकताको कारण हो । अर्को कुरा भाषा प्रयोग भइरहँदा परिस्कृत हुँदैपनि जाने गर्दछ । तर, पनि हामीसँग रहेका भाषा हाम्रो असली पहिचानको मापक हो ।
यसलाई सरकारी तवरले समेत अब व्यवस्थित गर्दै लैजानु पर्दछ । स्थानीय तहको सरकाले भाषिक संरक्षणको पहलकदमी लिनुपर्दछ । सरकारी कामकाजको भाषाको रुपमा अब मान्यता दिँदै नया नेपालमा इन्द्रेणी समाजको स्थापना गर्न सकेमा सुन्दरता थपिने छ ।