–भीम राई
खोटाङ जिल्लाको पश्चिमी सुक्खाग्रस्त क्षेत्रका रुपमा परिचित छ हलेसी । यस क्षेत्रमा पानीको अभाव छ । खेतीपातीका लागि पानी होइन त्यस क्षेत्रमा खानेपानीकै धौधौ छ । त्यस क्षेत्रको सबै जसो नागरिकलाई समस्या सोध्ने हो भने एउटै उत्तर आउँछ खानेपानी । ‘खानेपानीको त समस्या जर्जर छ । सिचाइँ सुविधाको त कुरै नगरुम ।’
गफैको सिलसिलामा हलेसी तुवाचुङ नगरपालिका–७ माथिल्लो माल्खु बस्ने सुविन्द्र गिरीले सुनाए । उनी पेशाले उद्यमी हुन् । व्यवसायिक कृषि उत्पादनमा लागेका गिरीसँगको भेटमा उनले यो गुनासो सामुहिक भएको बताए । हलेसी महादेव विकास समितिको उत्प्रेरणा र योजनामा होमस्टे (घरबास) सञ्चालनका लागि सुरिएका उनले भने, “पाहुना ल्याउँन जोडतोडले लागि रहेका छौँ । पूर्व तयारीका कामहरु भइरहेका छन् । तर, खानेपानीको अभावले गर्दा समस्या भने छ ।”
उनी माथिल्लो माल्खुमा सञ्चालन गर्न लागिएको होमस्टेका सञ्चालक समिति अध्यक्ष पनि हुन् । व्यवसायिक हिसाबले काठमाडौँमा टेलरिङ सेन्टर सञ्चालन गर्दै आएका गिरीले लकडाउनलाई भने राम्ररी सदुपयोग गरेका छन् । कोरोना सङ्क्रमणको विश्वव्यापी आतङ्कको बेला उनी खोटाङ फर्किसकेका रहेछन् ।
उनले खोटाङ फर्केर ५÷७ वटा जर्सी गाई पाल्न थालेका रहेछन् । यस्तै टर्की, स्थानीय जातका कुखुरा पाल्ने काम पनि सँगै गरेका रहेछन् । उनले आफ्नै लगानीमा यो काम शुरुवात गरेपछि एक प्रकारले छिमेकीहरु छक्क नै परेका रहेछन् । काठमाडौँमा व्यापार व्यवसाय गरिरहेका मान्छे । राम्रै पैसो कमाउदै आएका गिरीले व्यवसाय शुरु गर्दा उनलाई कतिले त मुर्खसम्म भन्न भ्याएको उनले सुनाए ।
सुक्खाग्रस्त क्षेत्रमा न पानी छ । न प्रशस्त घाँसको जोहो गर्न सकिन्छ । यस्तो ठाउँमा बेकारमा यस्तो काममा हात हालेर भन्नेहरुलाई उनले राम्रै जवाफ फर्काउँदा रहेछन् । ‘अरु ठाउँमा हरियाली होला, खानेपानी पनि होला, सिचाइँ गर्ने पानी खोलामा कल कल बगिरहेको होला । तर, उनीहरुसँग हलेसी त छैन नी’ यो जवाफ निकै घत लाग्दो छ ।
यो शब्दा केहि अगाडि जिल्लाका युवा नेता तथा समाज शास्त्रका विद्यार्थी मित्र टंक थापाले सुनाएका थिए उनकै भाषामा । थापा जी एकपटक व्यवसाय सञ्चालन सम्बन्धी तालिम सञ्चालन गर्दै हलेसी क्षेत्रमा पुग्दा त्यहाँ पानीको अभावको बारेमा गुनासो आएछ । उनले गिरीकै भाषा प्रयोग गरेछन् ।
‘हामीसँग हरियाली छ । खोल्सा खाल्सीमा पानी पनि कलकल बगिरहेको छ । उत्पादन गर्नका लागि सिचाइँ सुविधा प्रशस्त छ । तर, हाम्रोमा विश्वकै नमूना त्रिधार्मिकस्थल हलेसी छैन ।’ यहि भावनाले ओतप्रोत भएर गिरीले शुरु गरेका रहेछन् ।
आफ्नो व्यवसाय । आफूलेमात्र व्यवसाय गरेर एक्लै दौडिन उनलाई पटक्कै मन रहेनछ । एक्लै यस्तो व्यसाय गरेर केहि कमाउला अर्को कुरा तर, एक्लैले गरेको उत्पादनले हलेसीको बजार धान्न नसक्ने उनको ठहरछ । उनले मज्जाले उदाहरण हाले ‘सर यो दुनियामा एक्लै दौडेर फस्ट भाको रेर्कड सुन्नु भाको छ ?’
हो यसैले उनलाई सबैलाई कुद्न सिकाउन होमस्टे आवश्यक छ भन्ने लागेको रहेछ । यसलाई मुर्त रुप दिन अण्डर ग्राउण्ड पोखरीको सोच गरेका रहेछन् । घरको नजिकै खुला ठाउँमा जमिनमुनि पोखरी बनाउने । त्यसमाथि प्लास्टिक टनेल हालेर तरकारी उत्पादन गर्ने योजनाका साथ पोखरी निर्माण गर्न थालेका उनले बनाउँदै जाँदा मन खेल्न थालेको सुनाए ।
‘मन खेलेर बनाएको राम्रै पो भइहाल्यो’ उनले मन कता खेलाएछन् भने पोखरीमाथि प्लास्टिक टनेल हालेर तरकारी फलाउने योजनालाई थाँती राखेर त्यसमाथि मज्जाले छापेर होटल चलाउने परिकल्पना आइलागेछ ।
उनले त्यहि अनुसार सबैतिर बार लगाएर टेबुल, कुर्सी, मिलाएर मजाले बस्न मिल्ने बनाएका छन् । उनले त्यहीबाट आफ्ना ग्राहकलाई दही, चिया, चिसो पेय पदार्थ, आफ्नो बारीमा उत्पादन भएका फलफूल तथा तराकारी समेत बिक्री वितरण शुरु गरेका छन् । उनको यो कर्मपछि भने सबै छिमेकमा समेत राम्रो सन्देश गएको छ ।
यतिका पूर्व तयारी गरेर आफैले नमूना कामहरु गर्न थालेकै समयमा हलेसी महादेव विकास समितिले विश्वको एकमात्र त्रिधार्मिकस्थल रहेकाले पर्यटकहरुलाई आकर्षित गर्न होमस्टे सञ्चालनको अभियान ल्याएपछि उनी निकै उत्साहित भएका छन् । होमस्टे सञ्चालन सम्बन्धी रुचि राखेर पूर्वाधार समेत आफैले तयारी गरिरहेको बेला विकास समितिका अध्यक्ष राईमार्फत होमस्टे सञ्चालनको अवधारण आएपछि पहिलोपटक गिरीकै नेतृत्वमा खोटाङ जिल्लाकै पहिलो होमस्टे सञ्चालक समितिको समेत गठन भएको छ ।
उनको नेतृत्वमा बनेको सञ्चालक समितिले धमाधम पूर्वाधारको काम अगाडि बढाइरहेको छ । त्यस टोलमा रहेको बाटो मर्मत गर्ने, प्रत्येक घरमा पाहुना घर निर्माण गर्ने, शौचालयको सुधार गर्ने, घरको साजसज्जा निर्माण गर्ने जस्ता कामहरु अहिले धमाधम भइनै रहेको उनले सुनाए । यस्तै विकास समितिको सहयोगमा अब चाँडै होमस्टे सञ्चालन सम्बन्धी तालिम सञ्चालन गर्ने तयारी भइरहेको उनले सुनाए ।
विकास समितिले योसँगै हलेसीकै ऐसेलुखर्कमा अर्को होमस्टे सञ्चालक समितिको गठन गरिसकेको छ । स्थानीय कोपिल राईको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिले समेत आफ्नो कामलाई व्यवस्थित गर्न लागेको विकास समितिका अध्यक्ष राईले सुनाए । फरकफरक ठाउँमा फरकफरक समुदायको पहिचान झल्कनेगरि होमस्टे सञ्चालनको तयारी थालेको विकास समितिले हलेसीकै तल्लो माल्खुमा समेत यविन्द्र राईको संयोकत्वमा होमस्टे सञ्चालक समितिको गठन गरिसकेको छ ।
हाल सञ्चालन गर्न होमस्टे माथिल्लो माल्खुमा हिन्दु सँस्कार सम्बद्ध र ऐसेलुखर्क र तल्लो माल्खुमा सञ्चालन हुने होमस्टे किरात सँस्कार सम्बद्ध हुनेपनि सुविन्द्रले सुनाए । यी सबै होमस्टे सञ्चालनमा सुविन्द्रको अगुवाइले निकै प्राथामिकताको साथ काम गर्दै आएको छ । समग्रमा हलेसीमा आउने तिर्थालु भक्तजनको घुइँचो र बजार व्यवस्थापन गर्न यो काम अगाडि बढाइएको गिरीको तर्क छ ।
पर्यटकहरुको आकर्षण बढाउन तथा उनीहरुलाई हलेसीको चिनारी दिन तथा हलेसी वरिपरि बस्ने बस्ने समुदायको आर्थिक तथा सामाजिक विकास गर्नका लागि समेत आफ्नो कर्तव्य ठानेर अगाडि बढीरहेको उनले सुनाए ।
निकै लामो समय भएको छलफलमा उनले आफू सात वर्ष पत्रिका डिजाईनको काममा लागेको अनुभव सुनाए । उनी पत्रकार, डिजाईनर, व्यापारी हुँदै अहिले उद्यमी हुन लागेका व्यक्ति रहेछन् । सँगै उनी हलेसीको क्षेत्रमा रहेका सबै मठमन्दिरको चिनारीका बारेमा किताब लेख्ने पहिलो व्यक्ति पनि परेछन् । खुशी लाग्यो यो अभियानका लागि धन्यवाद सुविन्द्र जी !