–भीम राई
गाउँ घरमा एउटा पुरानो उखान छ । ‘कि थुतुनो जोगाउनु कि …तुनो जोगाउनु’ अहिले यो उखानको चर्चा बजारमा छ । तुनो कसरी जोगाउने भन्ने विषयले बजार खाएको छ । मान्छेलाई सपार्ने या बिगार्ने दुईवटै कुरा भनेको तुनो नै रहेछ । साना मान्छेले भन्दा बढी ठुला मान्छेहरुलाई …तुनोले धेरै बिगारेको उदाहरणहरु छन् ।
देशका मै हुँ भन्ने शाषक प्रशासकहरुलाई समेत यहि गाँठी कुराले डुबाएको कैयौँ उदाहरणहरु छन् । चर्चामा आउनेपनि यहि …तुनो र पतनको बाटो लैजाने पनि यसैले हो । बुढापाकाहरुले त्यतिकै भनेका होईनन् यी उखान । साँच्चै सान्दर्भीक छ । समय काल परिस्थिती अनुसारको अनुभवबाट जन्मिएको उखानलाई हामीले शिक्षाकै रुपमा लिन सक्नु पर्दछ ।
बेलाबखत हाम्रा देशका प्रधानमन्त्रिको आलोचना व्यापक हुन्छ । उनको निकै राम्रो शब्द चयन र प्रभावित पार्ने बोली र प्रतिपक्षमाथि कटाक्ष गर्न सक्ने अद्भुत वाकशक्तिले चर्चा परिचर्चा हुनु स्वभाविक छ । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा अहिले यसकै तार्गेटमा परेका छन् । नेपालको सन्दर्भमा स्थापित पत्रकार भएकै कारण उनलाई प्रधानमन्त्रीका सल्लाहकारका रुपमा नियुक्ती गरिएको हो ।
सल्लाहकार नभएसम्म उनलाई कसैले चर्चाको पात्र बनाएनन् । तर, जब प्रेस सल्लाहकारको जिम्मा आयो । उनी एकाएक चर्चामा आउन थाले । बेलामा बोलीको ठेगान नहुँदा सामाजिक सञ्जालमा चर्चाको विषय र आलोचनाको भारी बोक्नु पर्ने अवस्था आएको हो ।
यस्तै ठाउँ कुठाउँ प्रस्तुत हुँदा प्रधानमन्त्री तथा सत्तारुढ दललाई नै अफ्ठ्यारोमा पर्न जाने खतरा समेत बढेको छ । स्वयम् प्रधानमन्त्रीको विपक्षीप्रति प्रयोग हुने कटाक्ष त्यसमाथि प्रेस सल्लाहकारको अभिव्यक्तिले आलोचना खेप्नु परेको स्वयम्लाई पनि बेखबर अवस्य छैन नै होला । हुन त …तुनोको शिकार उनीहरुमात्र छैनन् । केही समय अगाडिसम्म सरकारी प्रवक्ता समेत रहेका बास्कोटा …तुनोकै कारण पदबाट बाहिरिनु प¥यो ।
उनले आफ्नो …तुनो राम्ररी कस्न सकेनन् । आलोचनाको भारी बोकेर हिँडिरहेका बेला उनले अर्को गम्भिर प्रकृतिको आरोप झेल्दै जिम्मेवारीबाट हात धुनु परेको थियो । यस्तै केहि समय अगाडि सभामुख समेत रहेका महरालाई …तुनोकै कारण आरोप लाग्यो । पछि छानविन गरेर न्याय दिने निकायले उनलाई सफाइ दिएपनि उनले यहि कारणले सभामुख पद गुमाए ।
यस्तै दुई तिहाइको बलमा सरकार गठन भएको केहि समय नबित्दै कानूनमन्त्री भएका तामाङको पद …तुनो कै कारण गुम्न पुग्यो । कुन समयमा के बोल्ने भन्ने विषयमा प्रशस्त तयारी नहुँदा र सल्लाहकार र स्वकीयहरुको गलत सल्लाहले पनि …तुनो फुस्किने गर्छ । भने कतिपय मनगढन्ते कुराले …तुनो जोगाउन मुस्किल हुन्छ ।
कतिपय जे बोल्नु र गर्नुपर्ने हो भाँती नपुग्दा पनि यस्तो समस्या आइलाग्छ । उच्च ओहोदामा रहेका र सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले बोल्दा, हाँस्दा, खेल्दा जे गर्दा पनि सबैभन्दा बढी जोगाउनु पर्ने …तुनो नै हो ।
यो यसबेला मात्र होइन जहिल्यै पनि चलीआएकै छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि काठमाडौँको खुला मञ्चमा निर्मल लामाको भाषणले सर्वत्र आलोचना खेप्नु परेको थियो । उनले बोलेको सहि कुरा नै थियो तर, सो कुराको पर्याप्त व्याख्या नपुग्दा उनको व्यापक आलोचना भयो । उनले यसका बारेमा आत्मलोचित नै हुनु परेको घटना छ ।
जनयुद्धको क्रान्तिमय समयमा तत्कालीन माओवादी आन्दोलनभित्र पनि …तुनोको केहि चर्चाहरु थिए । जस्ले पार्टीले कारबाही नै गरेको तथ्यहरु लिखित रुपमै आएका छन् । घटना माथिल्लो ओहदाका व्यक्तिहरुमा मात्र होइन । आफूलाई ब्रम्हचारी बताउने बाबाहरु समेत …तुनोकै कारण विस्थापित हुनुपर्ने ।
जेलको चिसो छिँडिमा बस्नु पर्ने अवस्था रहेको धेरै नै उदाहरुणहरु छन् । कतिपय अवस्थामा तुनो जोगाउन नसक्दा शासकहरुको हत्या समेत भएको विश्वमा केहि उदाहरणहरु छन् । यो पसङ्गहरु किन उठाइएको हो भने अहिले जे जति घटनाहरु भइरहेका छन् । सब दुईवटा कुराकै कारणले भएका छन् ।
माथि भनिएको जस्तो थुतुनोका कारण पद गुमेकादेखि जिम्मेवारीबाट वञ्चित भएकाहरु धेरै छन् । यस्तै सर्वसाधरणमा समेत थुतुनोकै कारण साईबर अपराधका घटनाहरुदेखि दुरुत्साहनका अपराधहरु फस्टाएका छन् । यस्तै समाज हुने हरेक अपराधहरु अर्को …तुनोका कारण हत्या हिँसा बढेको छ ।
बलत्कार, यौन हिँसा जस्ता अपराधहरु समेत यहि कारण बढेका हुन् । यसलाई न्यूनीकरण गर्न अब उहि बाजे पुर्खाहरुको अनुभवबाट प्राप्त उखानलाई अनुशरण गर्नै पर्ने देखिन्छ । यो समाजलाई साँच्चै इमान्दार र अनुशासित बनाउन यी दुई कुराबाट जोगिनु आवश्यक छ । नत्र कुन बेला के भर !