तालिममा गएर फर्किएका दुई प्रहरी जवानमा कोरोना पुष्टि

Halesi Khabar
0 Shares

खोटाङ, १६ असोज । जिल्ला प्रहरी कार्यालय खोटाङका दुई प्रहरी जवानमा पुनः कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सुनसरी जिल्लाको दुहवीस्थित दङ्गाको तालिममा गएर जिल्ला प्रहरी कार्यालय खोटाङ फर्किएका दुई प्रहरी जवानमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट गत असोज १२ गते २८ जनाको पिसिआर परीक्षण गर्न टेकु पठाइएकामा दुई प्रहरी जवानको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल खोटाङले जनाएको छ । सङ्क्रमण पुष्टि भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

यसअघि विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ जना प्रहरी जवानमा कोरोना पुष्टि भएको थियो । हालसम्म यस नगरपालिकाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये १५ जना, हलेसी तुवाचुङ नगरपालिकामा चार जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एक जना, साकेला गाउँपालिकामा एक जना, ऐसेलुखर्क गाउँपालिकामा एक जना र बराहपोखरी गाउँपालिकामा एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दुई प्रहरीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै खोटाङमा सङ्क्रतिको २३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख सिक्देलका अनुसार यसअघि विभिन्न समयमा सङ्क्रमण देखिएका २१ जना उपचारपछि घर फर्किसकेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म एक हजार ६०३ जनाको पिसिआर परीक्षण गर्दा २३ जनालाई कोरोना पोजिटिभ देखिएको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म खोटेहाङ, रावाबेँसी र जन्तेढुङ्गा गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेका छैनन् ।

यसैबीच, जिल्लाका सबै स्थानीय तहमा अहिले धमाधम कोभिड अस्पताल निर्माणको काम भइरहेको छ । देशभर सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्घीय सरकारको लगानीमा हरेक स्थानीय तहमा पाँच÷पाँच शैयाको अस्थायी रुपमा सञ्चालनका लागि कोभिड अस्पताल निर्माण शुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया